०५ साउन २०८३, मंगलबार

प्रधानन्यायाधीशले सांसदहरूलाई ‘साथी’ भनेर सम्बोधन गरेपछि ...

प्रधानन्यायाधीशले सांसदहरूलाई ‘साथी’ भनेर सम्बोधन गरेपछि ...

काठमाडौं –संसदीय सुनुवाइका क्रममा संवैधानिक परिषद्बाट प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सांसद सदस्यहरूलाई ‘साथी’ भनेर सम्बोधन गरेपछि नेकपाका सांसदले आपत्ति जनाएका छन् । 

बिहीवार संसदीय सुनुवाइका क्रममा कामु प्रन्या जोशीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा साथी भनेर सम्बोधन गरेका थिए । नेकपा सांसद पार्वत गुरुङले नियमापत्ति गर्दै सो शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् । 

समिति सदस्यको मागपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सामान्यतया सांसदहरुलाई ‘माननीय’ भनेर सम्बोधन गर्ने गरिन्छ ।

सांसदहरूले भने जोशीलाई सम्माननीय भनेर सम्बोधन गरेका थिए ।

‘म पनि माननीय र तपाइहरू पनि माननीय भएकाले साथीहरू भनेको हुँ,’ जोशीले जवाफ फर्काए ।

सुनुवाइका क्रममा सांसदहरूले जोशीविरुद्ध तिखा प्रश्न गरेका थिए । उनीहरूले जोशीको शैक्षिक प्रमाणपत्र तथा उनले गरेका आदेशका सम्बन्धमा प्रश्न गरेका थिए । 

प्रमाणपत्रको विवाद उठेपछि जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रको फोटोकपी समेत समितिलाई बुझाएका थिए ।

संसदीय सुनुवाइ सकिएपछि जोशी बैठकबाट बाहिरिएका छन् । सुनुवाइ सकिए पनि समितिले कुनै निर्णय लिएको छैन । निर्णयका लागि समिति बैठक भोलि दिँउसो ३ बजे पुन: बस्नेछ ।

कमेन्ट गर्नुहोस्