
धनगढी– धनगढी उपमहानगरपालिका–६ का वडा सचिव करुणाकर जोशी प्रायः प्रत्येक दिन कार्यालय समयमा पनि नशामै भेटिने गरेका छन् ।
आज (विहीवार) विहान ८ बजे कार्यालय पुगेका उनी दिनभरी नशामै रहेको सेवाग्राही तथा उनका सहकर्मीहरुले बताए । गरिबघर परिचयपत्र वितरण भैरहेको उक्त वडा कार्यालयमा सेवाग्रहीहरुको भिडभाड रहँदै आएको छ । कार्यालय समयमा पनि वडा सचिव नशामा आउन थालेपछि उनलाई सेवाग्राहीहरुले गैरजिम्मेवार कर्मचारीको संज्ञा दिदै कारवाही हुनु पर्ने माग समेत गरेका छन् ।
वडा अध्यक्ष भागीराम चौधरीले आफुले पटक–पटक सचिव जोशीलाई नशालु पदार्थ सेवन गरी कार्यालय नआउन निर्देशन दिदै आएको बताए । तर आफ्नो निर्देशनलाई समेत अटेरी गर्दै आएको अध्यक्ष चौधरीको भनाइ छ । नचाहेर पनि कर्मचारी अभावका कारण सचिव जोशीलाई वडा कार्यालयमा पदस्थापन गर्नु परेको समेत अध्यक्ष चौधरीले बाध्यता सुनाए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले पनि पटक–पटक चेतावनी दिदै आएपनि सचिव जोशीले आफ्नो बोलीमा सुधार नल्याएको बताए ।
अवकास हुने समयमा उनलाई कानूनी कारवाही गर्नु पनि खासै उचित नदेखेको भन्दै अधिकृत कार्कीले बचाउ गरे ।
सचिव जोशी हरेक दिनजसाे नशामा कार्यालय अाउने गरेकाेप्रति वडाध्यक्ष, प्रशासकीय अधिकृत कार्की समेत जानकार रहेको अवस्थामा रिपोटिङमा पुगेका सञ्चारकर्मीहरुलाई उनले नशालु पदार्थ सेवन नगरेको भन्दै झुठो बोलेर पन्छिए ।