
पछिल्लो समयका लोकप्रिय अभिनेता प्रदीप खड्का यतिबेला चलचित्र रोजीको छायाङ्कनमा व्यस्त छन् । पहिलो चलचित्र स्केप असफल भए पनि उनको चलचित्र यात्रा रोकिएन । बरु कर्म र भाग्यको तारतम्य मिल्दा उनी नेपालकै चर्चित अभिनेताको रूपमा पो स्थापित भए ।
स्केपपछि प्रेमगीत, प्रेमगीत– २, लिलिबिली एकाएक हिट भए । त्यसपछि उनलाई लिएर चलचित्र बनाउँछु भन्दै ढोका ढकढक्याउने निर्माताहरू दर्जनौं छन्, तर उनले छानेर मात्रै काम गर्ने गरेका छन् ।
उनी रोजीको छायाङ्कन सकेको केही हप्तामै आफ्नै लगानीमा निर्माण हुने चलचित्र लभ स्टेसनमा व्यस्त हुनेछन् । पछिल्लो साता दरबारमार्गमा भेटिएका उनै प्रदीप खड्कासँग लोकान्तरले छोटोमीठो कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।
खाजा खाने समेत फुर्सद छैन जस्तो छ नि ?
हाहाऽऽ, दिउँसो २ बजे खाजा खाने सोच थियो तर एउटा मिटिङ परिदियो । अब तपाईंसँगै बसेर खानु पर्ला नि ! तपाईंलाई १५ मिनेट कुराएकोमा सरी है ।
नो वरी ! के खाने ?
तपाईंलाई जे मनपर्छ म पनि त्यसमा सहमत ।
वेटरसँग – स्पेसल जुस, २ प्लेट चिकेन म:म र ग्रीन सलाद लेराउनुस् .... ।
गज्जब! मलाई मनपर्ने कुरा मगाइदिनुभएकोमा धन्यवाद है ।
अब छोटोमीठो कुरा गरौं न है । फ्यान फलोइङ यतिविधि बढेको छ, तपाईलाई कस्तो लाग्छ ?
शायद यो जति खुशीको कुरा एउटा कलाकारलाई अरु के हुन सक्ला र !
निरन्तर उकालो लागिरहेका बेला कहिलेकाहीँ एक्कासि झरिएला भन्ने डर लाग्दैन ?
शायद मीठोमीठो खाइरहेको मान्छेलाई नमीठो खानेकुरा मुखबाट छिर्दैन, मैले शुरुमा स्केपजस्तो फ्लप चलचित्रको स्वाद पाइसकेकाले मलाई पराजयसँग डर लाग्दैन ।
भाग्यले अहिले जसरी चम्काएको छ, त्यसैगरी डाउन गरिदियो भने के हुन्छ ?
केही हुँदैन । मैले अघि पनि भनिसकें– पराजयसँग डराएको भए सायद स्केप चलचित्रको रिजल्टपछि यतिबेला विदेशमा हुने थिएँ होला ।
थोरै क्लियर पार्दिनुस् न, स्केपले जस्तै आगामी चलचित्रले हार खुवायो भने के गर्नुहुन्छ ?
मसँग एउटा मात्रै विकल्प हुनेछ– पुन मिहेनत गर्ने ।
दिनमा कतिवटा चलचित्रको प्रस्ताव आउँछ ?
हाहाऽऽ, चलचित्रको प्रस्ताव प्रेम प्रस्तावजस्तो फेसबूक, इन्स्टाग्रामबाट आउने कुरा त भएन तर तपाईंलाई लिएर चलचित्र बनाउँछु भनेर प्रस्ताव गर्ने नेपालका निर्माताहरू धेरै हुनुहुन्छ ।
चलचित्र यात्रा कसरी अगाडि बढाउनुहुन्छ, राजेश हमालजस्तो जति चलचित्र पायो त्यतिमा काम गर्नुहुन्छ ?
हाहाऽऽ, राजेश सरले त्यो बेलामा जे गर्नुभयो, राम्रो गर्नुभएको हो । त्यतिबेला उहाँको विकल्पमा अन्य अभिनेताहरू थिएनन्, तर अहिले विकल्पमा अभिनेताहरू हुनुहुन्छ । यद्यपि मैले सकेसम्म राम्रा स्क्रिप्ट हेरेर र मैले न्याय गर्न सक्ने चलचित्रमा मात्र साइन गर्नेछु । पैसाको पछि दौडिनेछैन ।
निरन्तर अभिनय गरेर पैसा कमाइरहेका बेला किन निर्माणमा हात राख्नुभएको नि ?
मैले अघि पनि तपाईंलाई भनिसकें नि पैसा कमाउने हो भने धमाधम चलचित्र साइन गर्ने र काम गर्ने गर्थें तर म नेपाली फिल्मी इन्डस्ट्रीलाई राम्रा चलचित्र दिने सोचले पनि आएको हुँ । शुरूमा स्केपमा पनि मैले नै लगानी गरेको थिएँ तर त्यसले राम्रो व्यापार गरेन । दर्शकले पत्याएनन् । तर अब पत्याउने बाटो तयार गरिसकेको छु । अभिनयसँगै चलचित्र निर्माणमा निरन्तर हात अगाडि बढ्नेछन् ।
लभस्टोरी चलचित्रमा मात्रै काम गर्ने या अन्य प्रकारका चलचित्र पनि गर्ने ?
यो कस्तो कुरा रहेछ भने नि- दर्शकले जे कुरा मन पराए त्यसैअनुसार अगाडि बढ्नुपर्छ, नत्र घातक पनि हुनसक्छ । यद्यपि मैले कथावस्तु राम्रो पाएँ भने अवश्य अन्य प्रकारका चलचित्र पनि गर्नेछु ।
अभिनेता अनमोल केसीसँग बोलचाल छैन हो ?
लौ ! कसले भन्यो यो कुरा ?
चलचित्र बजारमा तपाईंलाई अनमोल केसीको प्रतिस्पर्धी भनिन्छ । नेपाली चलचित्र उद्योगका दुई सुपरस्टारको भेट समेत अहिलेसम्म भएको रहेनछ । यसले त्यस्तै सन्देश दिन्न र ?
अनमोलसँग न मेरो प्रतिस्पर्धा हो न कुनै किसिमको रिसइबी । हामी दुवै आ–आफ्नो काममा व्यस्त छौं । सोही कारण पनि भेट नभएको हो । सायद कुनै संयोग पर्ला, चाँडै भेट हुनेछ ।
कुराकानीको अन्तिममा एउटा प्रश्नको जवाफ नढाँटिकन भन्नुस् न, तपाईंले एउटा चलचित्रबाट कति पारिश्रमिक लिनुहुन्छ ?
मलाई लिड क्यारेक्टरमा लिएर २ देखि ३ करोड लगानी गर्नु भनेको त्यो सबै मलाई विश्वास गरेर खर्चिनुभएको हो । त्यसैले मेरो पारिश्रमिक उहाँहरूले गर्नुभएको लगानी सबै हो ।