१६ असार २०८३, मंगलबार

देशभर ३ दिन भारी वर्षाको सम्भावना : बाढीपहिरोको खतरा

देशभर ३ दिन भारी वर्षाको सम्भावना : बाढीपहिरोको खतरा

काठमाडौं – आगामी ३ दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले ३ दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

आइतबार दिउँसो र रातको दुवै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । असार १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बद्लीसहित वर्षा भइरहेको छ । काठमाडौँका कतिपय स्थानमा भारी वर्षा भएको छ । यद्यपी, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा ३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा ६, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । 

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी ३ दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

आज देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतवार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । 

आइतवार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतरा भन्दा तलैहुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ । 

आज भोलि र पर्सी (साउन १४ गते ) खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्