१७ असार २०८३, बुधबार

दुईतिहाईको सरकार निरीह भएको कांग्रेस नेता कोइरालाको दाबी

साउन १२, २०७५
दुईतिहाईको सरकार निरीह भएको कांग्रेस नेता कोइरालाको दाबी

बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार निकै निरीह देखिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री र सांसदलाई राखेर प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु निरीहताको पराकाष्टा भएको दाबी गरे । ‘दुईतिहाई सहितको सरकार किन कमजोर ढंगबाट चलिरहेको छ, सरकार गल्ती गर्दैछ यसलाई सामना गर भन्नु कहाँसम्मको निरीहता हो,’ उनको प्रश्न गरे । रिपोर्टर्स क्लब ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारले एकदलीय शासन चाहिरहेको प्रष्ट पारे ।

‘मुर्दा शान्ति र मुर्दा विकास लोकतन्त्रमा हुन सक्दैन, यसरी मुलुकमा समृद्धि आउँदैन लोकतन्त्रमा विरोध गर्न पाइन्छ, सत्याग्रह गर्न पाइन्छ,’ कोइरालाले भने, ‘हामी छौं संसदीय ब्यवस्था, तर सत्तापक्षका सांसदले ५ वर्षको म्यान्डेड पूरा गर्न दिनुस् समृद्धि र विकास ल्याउछौं भन्नुभएको छ, त्यसो भए त प्रतिपक्ष नै चाहिएन नि !’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेको उनले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताए । ‘ओली जीले संविधानमा कमा र फूलस्टप पनि फेरिन्न भन्ने मान्छे, उपेन्द्र यादव संविधान नै पूरै फेर्ने भन्ने अनि प्रचण्ड कार्यकारी राष्ट्रपति चाहने मान्छे सबै सरकारमा छन् यो कसरी कहाँबाट मिलेको हो अचम्म लाग्छ,’ उनले सुनाए ।

सरकारले नेपाली सञ्चार जगतको पनि घाँटी निमोठ्न खोजेको भन्दै उनले प्रश्न गरे, ‘पत्रकारले प्रश्न सोध्दा कार्यक्रम नै रद्द गर्ने मिल्छ ?’ उनले सरकारले प्रेश स्वतन्त्रतामाथि पनि नपत्याउने किसीमले अंकुश लगाउन थालेको बताए ।

कांग्रेसका निराश कार्यकर्तालाई उर्जा थप्न आफू जिल्ला–जिल्लामा हिँडिरहेको भन्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताए । ‘रेजिमेन्टेड पार्टीमा आज माधव नेपाल, प्रचण्ड, झलनाथ कहाँ हुनुहुन्छ, तपाईहरूलाइ थाहा छ, अब ओली बोलेपछि सकियो ।’ मंसिरमा पानी जहाज चढ्ने भन्ने ओलीलाई आफूलाई पनि चढाउन आग्रह गरे ।

कांग्रेसको बिषयमा कुरा गर्दै उनले भने, ‘हाम्रो लोकतान्त्रिक पार्टी हो, विवाद र फरक विचार राख्न पाइन्छ यसैगरी चल्छ ?’ तपाई नेतृत्वको दाबेदार हो भन्ने प्रश्नमा उनले भने, ‘कार्यकर्ताले माया गरे भने जहाँ पुर्याउँछन् जान तयार छु ।

कहिले दाइले भाइलाइ छोड्न तयार हुनुपर्छ कहिले भाइले दाइलाई ।’ रिपोर्टर्स क्लव प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्