
काठमाडौं – डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेको डेढ वर्ष बितिसक्दा पनि उनको तस्वीर कोलोराडो स्टेटको क्यापिटल बिल्डिङमा झुण्डिन सकेको छैन ।
खासमा त्यहाँको प्रेसिडेन्सियल वालमा नयाँ राष्ट्रपतिको फोटो चन्दा उठाएर हालिन्छ । ट्रम्पको तस्वीर राख्नका लागि १० हजार डलर चन्दा उठाउनुपर्ने हुन्थ्यो ।
स्थानीय टीभी च्यानलले दाबी गरेअनुसार, एक डलर चन्दा पनि उठेन ।
पछि चकचके मान्छेहरूले भित्तोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको फोटो झुण्ड्याइदिए ।
क्यापिटल बिल्डिङमा राष्ट्रपतिहरूको तस्वीर झुण्ड्याउनका लागि कोलोराडो सिटजन फर कल्चर नामक संस्थाले चन्दा उठाउने गरेको थियो । संस्थाका अध्यक्ष जे सेलरले एक टीभी च्यानललाई बताएअनुसार, बाराक ओबामा र जर्ज डब्ल्यू
बुशको तस्वीर राख्नका लागि चार महिनामा नै आवश्यक चन्दा जुटिसकेको थियो ।
ट्रम्प चाहिँ अनावश्यक विवादमा परिरहने भएकाले शायद उनको तस्वीर झुण्ड्याउनका लागि धेरैले चासो नदेखाएको हुनुपर्छ ।
एजेन्सी