
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गतेदेखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ ।
दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ । “दोहा उडानका लागि निगमले सोमबार नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भने, “प्राधिकरणबाट अनुमति पाएका छौँ, मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ ।”
वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ ।