
काठमाडौं – भारतको पूर्वोत्तर राज्य असममा नेसनल रजिस्टर अफ सिटीजन (एनआरसी) को अन्तिम मस्यौदा जारी गरिएको छ । त्यहाँका ४० लाख मानिस देशबाट निकालिने स्थितिमा छन् ।
यति ठूलो जनसंख्यालाई सरकारले कसरी सम्हाल्छ र अवैध भनिएका मानिस कहाँ जान्छन् भन्ने ठूलो प्रश्न छ ।
असमका ४० लाख मानिस भारतको नागरिक ठहरिएनन् भने कुनै पनि देशको नागरिकता नहुने व्यक्तिको संसारमै सबभन्दा ठूलो संख्या यही हुनेछ ।
अहिले संसारमा रोहिंग्या मुसलमानहरूको संख्या नागरिकताविहीन व्यक्तिमध्ये सबभन्दा बढी छ । उनीहरूसँग कुनै देशको पनि नागरिकता छैन ।
अनि थाइल्यान्डमा सात लाख, सिरियामा ३.६ लाख र लाट्भियामा २.६ लाख मानिससँग कुनै पनि देशको नागरिकता छैन ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, संसारमा एक करोड मानिससँग कुनै पनि देशको नागरिकता छैन ।
असममा मानिसहरूमा डर छाएको छ । बंगलादेशसँग जोडिएका जिल्लाहरूमा तनाव छ । सरकारले ३३ जिल्लामा धारा १४४ लागू गरेको छ अनि २२ हजार जवान तैनाथ गरेको छ ।
एजेन्सी