
काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।
बीपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बीपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बीपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ ।
कार्यक्रममा बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराए । बीपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा बीपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बीपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेरेका थिए ।