![अझै उस्तै छ कलंकी–नागढुंगा सडक, स्थानीय भन्छन्– 'आयु नै १० वर्ष घट्ने भो' [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/cover_NO1Bk9ebei.jpg)
काठमाडौं –के तपाईंले कलंकी–नागढुंगा सडक खण्डमा यात्रा गर्नुभएको छ ? छ भने तपाईंलाई भनिराख्नै पर्दैन त्यहाँको अवस्था । यदि छैन भने त्यो बाटो भएर यात्रा गर्नुअघि मास्क र चस्माको बन्दोबस्त अनिवार्य गर्नुहोला, किनभने कलंकीबाट नागढुंगा वा नागढुंगाबाट कलंकी पुग्दा तपाईंको स्वास्थ्यमा नै समस्या देखिनसक्छ ।
घाम लाग्दा सास फेर्नै मुस्किल हुने धूलो र पानी पर्दा थामिनसाध्ये हिलोले सताउने गरेको थालेको धेरै भइसक्यो । यो बाटो भएर आवतजावत गर्ने यात्रुको त यो अवस्था छ भने सडक आसपासमै बसोबास गर्ने स्थानीयको अवस्था के होला ! स्थिति निकै गम्भीर छ ।
स्थानीयलाई घरमा बस्दा तथा राति सुत्दा पनि मास्क लगाउनुपर्ने अवस्था छ ।
‘पसलमा पनि माक्स लगाउनुपर्छ, हाम्रो त आयु नै १० वर्ष घट्ने भो! के गर्नु सडक बनाउने निकाय मौन छ,’ स्थानीय व्यापारी श्याम श्रेष्ठले भने ।
सरकारले सडकको स्तरोन्नति समयमै सक्न चासो नदिएको स्थानीयको गुनासो छ ।
‘अस्ति कुन्नी को नेता आए रे, गाडीमा कलंकीबाट नागढुंगा पुगे रे, तर बाटो उस्तै छ,’ यातायात मन्त्री रघुवीर महासेठले गरेको सडक अनुगमनतर्फ इंगित गर्दै स्थानीय हार्डवेयर व्यवसायी लालू घिमिरेले भने, ‘बाइकमा हिँडेको भए पो हाम्रो पीडा थाहा हुन्थ्यो !’
स्तरोन्नतिका लागि भनेर सडक भत्काइएको महिनौं बितिसकेको छ । तर सडक बनिसक्ने कहिले हो पत्तो छैन । यात्रुहरू कष्टपूर्ण यात्रा गर्दैछन् भने स्थानीयले विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

















