१० साउन २०८३, आइतबार

नेपाल–भारतबीच पारस्परिक हितमा थप साझेदारी हुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीको विश्वास

नेपाल–भारतबीच पारस्परिक हितमा थप साझेदारी हुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीको विश्वास

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाल र भारतबीच पारस्परिक हितमा थप साझेदारी हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल–भारत थिंक ट्याङ्क शिखर सम्मेलनलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै रेग्मीले दुई देशबीच पारस्परिक साझेदारीका सम्बन्धमा सर्वोत्कृष्ट विचारहरू जन्माउन सम्मेलन सफल हुने विश्वास समेत व्यक्त गरे ।

‘भारतसँग अत्यन्तै निकट सम्बन्ध रहेको नेपाल दुवै देशको साझा स्वार्थका विविध विषयमा साझेदारी र संयोजन हुने कुरामा आशावादी छ,’ पूर्वअध्यक्ष रेग्मीले भने, ‘आगामी दिनहरू दुवै देशको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण र अवसरहरूले भरिएका छन् भन्ने कुरामा आशावादी रहँदै म विद्वान थिंक ट्यांकहरूलाई नेपाल र भारतबीचको पारस्परिक साझेदारीका सम्बन्धमा सर्वोत्कृष्ट विचारहरू जन्माउनका लागि आह्वान गर्दछु ।’

साथै सम्मेलनले दीर्घकालीन सम्बन्ध र परास्परिक सहअस्तित्वको संवर्द्धनका लागि उपयुक्त वातावरण बनाउने उनको विश्वास थियो ।

सम्बोधनको पूर्णपाठ :
समारोहका अध्यक्षद्वय एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सका सीईओ श्रीसुनिल केसीज्यू तथा नेहरु मेमोरियल म्युजियम लाइब्रेरीका निर्देशक श्री शक्ति सिन्हाज्यू,
नेपालका लागि भारतका राजदूत महामहिम श्री मञ्जीव सिंह पुरीज्यू, उपस्थित अन्य गण्यमान्य व्यक्तित्वहरू,
यो शिखर सम्मेलनलाई सम्बोधन गर्न पाउँदा म हर्षविभोर भएको छु । मलाई यस बौद्धिक सम्मेलनमा सम्बोधन गर्ने अवसर दिनुभएकोमा आयोजनक संस्थाहरू एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स र नेहरु मेमोरियल म्युजियम लाइब्रेरीप्रति आभारी छु । सम्मेलनमा भाग लिनका लागि भारतबाट आउनुभएका सबै प्रतिनिधिहरूलाई न्यानो स्वागत गर्दछु ।
यो विशेष अवसरमा म नेपाल र भारतमा आयोजित द्विपक्षीय सम्बन्ध र सहयोग विषयक समारोहमा भाग लिएको स्मरण गर्दछु । नेपाल र भारतबीचको शताब्दियौं लामो सम्बन्धका बारेका कुरा गर्नका लागि म उत्प्रेरित भएको छु ।
दुई देशबीचको सम्बन्ध दुवैका लागि गर्व र खुशीको क्षण हो । नेपाल र भारतबीच अद्वितीय द्विपक्षीय सम्बन्ध छ । भूगोल, संस्कृति र जनस्तरको सम्बन्ध परापूर्वकालदेखि दुवै देशका लागि महत्त्वपूर्ण विषयका रूपमा रहेको छ । दुई देशका जनता र संस्थाबीचको सौहार्द्र तथा स्नेहलाई झनै बढाउनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुन्छन् ।
यो थिंक ट्यांक शिखर सम्मेलनको सबभन्दा सुन्दर पक्ष भनेको यसले सबै किसिमका हल्ला र पूर्वाग्रहलाई बेवास्ता गरेर दुई देशबीचको थप राम्रो सम्बन्ध निर्माणका लागि सिर्जनात्मक र ठोस सुझाव र विचार जन्माउँछ । त्यसैले यस्तो महत्त्वपूर्ण सम्मेलन नेपालको राजधानी शहरमा गरेकोमा म हृदयदेखि नै धन्यवाद दिन्छु । अन्तर्राष्ट्रिय सम्बन्ध, विशेषगरी छिमेकीहरूबीचको सम्बन्धलाई जहिले पनि जनता र समाजसँग सम्बन्धित विषयले निर्धारण गरेका हुन्छन् । यसरी हेर्दा नेपाल र भारत दुवैले आपसी निकटतालाई अनौपचारिक रूपमा विकसित गरेको देखिन्छ ।
औपचारिक आधिकारिक तथा कूटनीतिक सम्बन्धहरू उपयुक्त मर्यादा तथा राज्यस्तरका अभ्यासमार्फत कायम राखिएका छन् भने अनौपचारिक तथा जनस्तरीय सम्बन्ध दुवै देशको सामाजिक, सांस्कृतिक र आर्थिक गतिविधिमा निर्णायक महत्त्व राख्दछ । यस सन्दर्भमा यस किसिमको थिंक ट्यांक सम्मेलनले दीर्घकालीन सम्बन्ध र परास्परिक सहअस्तित्वको संवर्द्धनका लागि उपयुक्त वातावरण बनाउने अवसर प्रदान गर्दछ ।
नेपाल अहिले विगतको तुलनामा राम्रो सामाजिक राजनीतिक अवस्थामा छ । गत वर्ष सबै तीन तहको निर्वाचनपछि हामीहरू केन्द्र, प्रदेश र स्थानीय तहमा स्थिर सरकार बनाउन सफल भएका छौं ।
संविधानले देशको सामाजिक आर्थिक परिवर्तनको महत्त्वाकांक्षा बोकेको छ र जनताको उत्साह तथा आशा बढेको छ । हाम्रो इच्छाशक्ति, अनुराग र प्रयासमार्फत सर्वांगीण विकासको लक्ष्यप्राप्तिमा नेपाल र नेपाली जनता अघि बढ्नका लागि प्रशस्त अवसर रहेको विश्वास गर्न सकिन्छ । तर विकास भनेको अनन्त प्रक्रिया हो र यसले अनेक किसिमका सहयोग र सहायताको अपेक्षा गर्दछ ।
भारतसँग अत्यन्तै निकट सम्बन्ध रहेको नेपाल दुवै देशको साझा स्वार्थका विविध विषयमा साझेदारी र संयोजन हुने कुरामा आशावादी छ । आगामी दिनहरू दुवै देशको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण छन् र अवसरहरूले भरिएका छन् भन्ने कुरामा आशावादी रहँदै म विद्वान् थिंक ट्यांकहरूलाई नेपाल र भारतबीचको पारस्परिक साझेदारीका सम्बन्धमा सर्वोत्कृष्ट विचारहरू जन्माउनका लागि आह्वान गर्दछु ।
अन्तिममा म आयोजकहरूलाई दुवै देशका थिंक ट्यांकहरूलाई यसरी एकै ठाउँमा भेटघाटको अवसर प्रदान गरेकोमा बधाई दिन्छु । यो सम्मेलनले दुवै देशका विविध विषयमा बृहत् छलफल गरेको र हाम्रो दीर्घकालीन सम्बन्ध र सहकार्यलाई थप संवर्द्धन गर्न सफल भएको मेरो विश्वास छ ।
यस्ता किसिमका सम्मेलनहरू आगामी दिनमा पनि हुने म आशा गर्दछु ।
पुनः एकपटक म आयोजकलाई धन्यवाद दिन्छु र सबै प्रतिनिधिहरूलाई धन्यवाद दिन्छु । ध्यान दिएर सुन्नुभएकोमा धन्यवाद !


 

salt training

कमेन्ट गर्नुहोस्