काठमाडौं – बार्सिलोनाले माल्कमलाई भित्र्याएपछि विवाद उत्पन्न भएको छ । यी विंगर अघिल्लो हप्ता चार करोड १० लाख युरोको सम्झौतामा अघिल्लो हप्ता आएका थिए । उनलाई बेच्ने क्लब बोर्डो र किन्न लागेको क्लब रोमाले सम्झौता अन्तिम चरणमा पुगेको भने पनि बार्सिलोनाले उनलाई उम्काएको थियो ।
माल्कम आएपछि क्लबका अर्का खेलाडी उस्मान देम्बेले चाहिँ अप्ठ्यारोमा परेका छन् । प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले देम्बेलेलाई विश्वास नगर्ने बताइएको छ । क्याम्प नूको पहिलो सीजनमा चोटका कारण धेरै खेल गुमाएका देम्बेलेले क्लब छोड्न सक्ने सम्भावना छ ।
फ्रान्सले विश्वकप जितेको भएपनि देम्बेलेले खासै उत्कृष्ट खेल देखाउन सकेनन् । उनले समूह चरणको खेलमा झुर खेले भने नकआउट चरणमा पनि आक्कलझुक्कल मात्र देखिए । त्यसले गर्दा उनको बदनामी नै भयो ।
अब माल्कम भित्र्याएपछि त देम्बेलेको भविष्यका सम्बन्धमा अनुमानको बजार तातेको छ । तर बार्सिलोनाका पूर्वखेलाडी आबिदालले अघिल्लो हप्ता भने, ‘देम्बेले महत्त्वपूर्ण छन् । हामीहरू उनमाथि विश्वास गर्छौं । उनी र माल्कम एउटै
पोजिसनबाट खेल्छन् तर सीजनहरू लामा हुन्छन् र हामीहरू क्लबको हित सोच्छौं । देम्बेले ढुक्क भए हुन्छ, उनी महत्त्वपूर्ण छन् ।’
बोरुसिया डोर्टमन्डका अट्याकर रहिसकेका देम्बेलेको प्रमुख समस्या अनुशासनको कमी रहेको मानिएको थियो तर उनले यस सीजनमा क्लबको खेलमा आफूलाई ढाल्ने विश्वास गरिएको छ ।
‘यो सीजन उनैको हो भन्ने हामी आशा गर्दछौं,’ भाल्भर्डेले शुक्रवार बताए । ‘उनले क्लबका लागि थुप्रै योगदान गर्न बाँकी छ । उनी असाधारण खेलाडी हुन् । अघिल्लो वर्ष चोट लागेका कारण उनी अभागी भए तैपनि उनले हामीलाई धेरै योगदान
गरे ।’
देम्बेलेका लागि अघिल्लो वर्ष बार्सिलोनाले १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेकाले पनि उनलाई छोडिहाल्ने स्थिति देखिँदैन । उनी अब त विश्वकप विजेता भइसकेका छन् अनि जम्मा २१ वर्षका मात्र छन् । तर बार्साको सन् २०१८–१९ सीजनमा
उनी र माल्कमबीच पहिलो रोजाइको खेलाडीको स्थानका लागि संघर्ष हुने पक्का छ ।
गोल डट्कम