
काठमाडौं –संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने बारे संसदीय सुनुवाइ विशेष समितिले बुधवार निर्णय गर्दैछ ।
जोशीको सम्बन्धमा निर्णय लिन समितिको बैठक बुधवार दिउँसो साढे ३ बजे बस्दैछ । समितिको बैठकअघि नेकपा र नेपाली कांग्रेसका सांसदहरूले छुट्टा–छुट्टै रणनीति बनाउँदैछन् ।
शैक्षिक प्रमाणपत्र लगायत विवादका कारण जोशीको नाम अनुमोदन हुने सम्भावना भने कम देखिएको छ । समितिमा रहेका नेकपाका एक प्रभावशाली सदस्यले जोशीको नाम अनुमोदनको सम्भावना नरहेको बताए ।
समितिमा नेकपाकी अर्की सदस्य अमृता थापा मगरले जोशीको नाम अनुमोदन गर्ने या नगर्ने विषयमा आजै निर्णय हुने बताइन् । ʻयो विषयलाई हामी धेरै लम्ब्याउने पक्षमा छैनौं,ʼ उनले लोकान्तरसँग भनिन्, ʻनिर्णय के हुन्छ भनेर बाहिर भन्दै हिँडन् मिल्दैन ।ʼ उनले पनि जोशीको नाम अनुमोदनको सम्भावना अत्यन्त न्युन रहेको स्वीकारिन् ।
यस विषयमा नेपाली कांग्रेस भने अलमलमा देखिएको छ । सोमवार बसेको बैठकमा सहमतिबाट निर्णय गरौं भनेर उठेको कांग्रेसले मंगलवार यो विषयलाई सडकमा पुर्याएको छ ।
जोशी शैक्षिक प्रमाणपत्रको विवादमा फसेका कारण कांग्रेस भित्र पनि उनको पक्षमा लाग्ने कि नलाग्ने भन्नेमा बहस भइरहेको छ । अन्तिममा कांग्रेसले पनि जोशीलाई नबोक्ने निर्णयमा पुग्न सक्ने कांग्रेस स्रोतले बतायो ।
समितिकी कांग्रेस सदस्य पुष्पा भुसालले बैठकमा छलफल पछि निर्णयमा पुगिने बताइन् । ʻआज बैठकमा छलफल प्रारम्भ हुन्छ, त्यसैको आधारमा हामी एउटा निष्कर्षमा पुग्छौं,ʼ भुसालले लोकान्तरसँग भनिन् ।
कांग्रेस सचेतक समेत रहेकी भुसालले जोशीको विषयमा पार्टीमा छलफल नभएको बताइन् । संसदीय सुनुवाइ समितिले यसअघि कसैको नाम रिजेक्ट गरेको छैन ।
संवैधानिक परिषद्बाट जेठ २९ गते सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश जोशीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले साउन १० गते सुनुवाइ गरेको थियो ।
संसदीय सुनुवाइ समितिको सिफारिसपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।