०३ असार २०८३, बुधबार

चीनका यी चार हतियारले ठेगान लगाउँछन् अमेरिकालाई

चीनका यी चार हतियारले ठेगान लगाउँछन् अमेरिकालाई

काठमाडौं – अमेरिका र चीनबीच अहिले चर्को व्यापारयुद्ध चलिरहेको छ । अहिलेसम्म यो युद्ध एकअर्काको आयातमा कर लगाउनेमै सीमित छ । 

संसारका दुई ठूला आर्थिक शक्तिहरू एकअर्काको उत्पादनमा कर लगाइरहेका छन् र दुवैले यसमा खुकुलोपन ल्याउने संकेत दिएका छैनन् । 

चीनसँग यस्ता चार आर्थिक हतियार छन् जसले अमेरिकाको आर्थिक व्यवस्थालाई ठेगान लगाउन सक्छन् ।

पहिलो, चीनले अमेरिकी कम्पनीहरूलाई अप्ठ्यारो स्थिति ल्याउन सक्छ जस्तो भन्सारमा बाधा, विनिमयको नियम परिवर्तन र निर्यातमा करवृद्धि ।

अमेरिकाको साइराक्युज विश्वविद्यालयकी प्राध्यापक मेरी लभ्ली भन्छिन्, ‘चीनले अप्ठ्यारा कदमहरू उठाउने गरेको इतिहास छ र यो अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । केही रिपोर्टहरूमा अमेरिकी कम्पनीहरूका लागि बाधा
उत्पन्न गर्ने कुरा गरिएको छ । तर चीनले अहिले नै व्यापक मात्रामा यसो गरिरहेको भन्न सकिँदैन ।’ 

दुवै देशले कर बढाउनेबाहेक अन्य कारवाही गरेमा दुवैलाई घाटा हुन्छ । 

यो कदमका कारण अमेरिकी र चिनियाँ कम्पनीमा लगानी घट्नेछ । 

दोस्रो, चीनका राष्ट्रपति शी चिनफिङसँग प्रशस्त समय छ । उनी सत्तामा टिकिरहन सक्छन् । उनीमाथि छिट्टो कदम चाल्नुपर्ने कुनै दबाब छैन । 

चीन बिस्तारै अघि बढिरहेको छ र अन्य व्यापारिक साझेदार खोजिरहेको छ । ऊ यसो गरेर अमेरिकालाई विश्वबाट अलग्याउन खोज्दैछ । 

विशेषज्ञहरूका अनुसार, चीन युरोप र एसियाका अन्य देश र दक्षिण अमेरिकासँग सम्पर्क बढाइरहेको छ र व्यापारिक सम्बन्ध स्थापना गर्ने प्रयास गरिरहेको छ । 

अमेरिकाले नाता तोडेका देशको समूहमा चीन समावेश हुनसक्ने सम्भावना छ । त्यसमा एउटा त पराप्रशान्तीय आर्थिक सहकार्य सम्झौता हो । 

अमेरिकाले युरोपेली संघ, क्यानडा र मेक्सिकोसँग व्यापारिक मतभेद बढाएको छ । चीनले यिनीहरूसँग नयाँ सम्झौता गर्न सक्छ । 

तेस्रो, चीनले कडा कदम उठाउँदै आफ्नो मुद्रा युआनको मूल्य घटाउनसक्छ । तर यो फैसला लिन सजिलो छैन ।

केही विशेषज्ञहरू करेन्सी वार बढी असरदार हुन सक्ने मान्यता राख्छन् । 

तर केही चाहिँ यो दुई धार भएको तरबार मान्छन् । 

अर्थविज्ञ ब्रायन ब्रोजिक्वास्की भन्छन्, ‘चीनले आफ्ना कम्पनीहरूलाई सहायता गर्न र तिनलाई बलियो बनाउनका लागि धेरै पैसा अर्थव्यवस्थामा हाल्न सक्छ र आफ्नो मुद्राको मूल्य कम गराउन सक्छ ।’

उनी भन्छन्, ‘चीनको आर्थिक हतियारले अमेरिकालाई बढी नोक्सान गर्न सक्छ तर उसले वास्तवमै यसो गर्ला र ?’

युआनको मूल्य घट्यो भने शुल्कको असर कम हुन्छ । त्यस स्थितिमा अमेरिकाले लेभी बढाउनुपर्ने हुन्छ र व्यापारिक युद्ध जारी रहन्छ । 

चौथो, ट्रेजरी बोन्डलाई सुरक्षित लगानी मानिन्छ । 

चीनमाथि धेर दबाब दिइएमा उसले ट्रेजरी बोन्ड बेच्न सक्छ वा किन्न नै बन्द गर्न सक्छ । 

चीनले यसो गरेमा अमेरिकी अर्थव्यवस्थालाई झड्का दिन सक्छ । तर यसको असर बेइजिङमा पनि पर्छ । 

विशेषज्ञहरूका अनुसार, चीनले यसरी बोन्ड बेचेमा युआनको भाउ झर्छ र आर्थिक सुरक्षा पनि प्रभावित हुन्छ । 

केही विशेषज्ञहरू चीन यी आर्थिक हतियार प्रयोग नगर्ने बताउँछन् । उसले शुल्क बढाउने काम मात्र गर्न सक्छ । 

सेन्टर फर बिजनेस इन चाइना एन्ड पोलिटिकल इकोनोमी परियोजनाका निर्देशक स्कट केनेडी भन्छन्, ‘व्यापारिक युद्धमा अमेरिका भन्दा बढी प्रभावित त चीन नै हुन्छ । अमेरिकाको अर्थव्यवस्था धेरै ठूलो छ । चीनले अमेरिकी ट्रेजरी बोन्ड
बेचेर अधिक प्रभावित पार्न सक्दैन । चीनले यसो गरेमा अमेरिकाको प्रतिक्रिया निकै ठूलो हुन्छ ।’

केनेडीका अनुसार, चीनले केही अमेरिकी कम्पनीहरूमाथि दबाब बनाएपनि सबैमाथि बनाउन सम्भव छैन । 

अर्को दृष्टिकोणबाट हेर्दा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता जोसेफ स्टिगलिट्ज यो युद्धमा चीन बढी सशक्त स्थितिमा रहेको बताउँछन् । 

उनी भन्छन्, ‘चीनसँग व्यापारिक युद्धबाट जोगिने अनेकौं तरिका छन् । उससँग तीन खर्ब अमेरिकी डलर छ र त्यो नै व्यापारिक युद्धबाट जोगिन पर्याप्त छ ।’

बीबीसीमा प्रकाशित सिसिलिया बारियाको रिपोर्टको भावानुवाद
 

salt training

कमेन्ट गर्नुहोस्