काठमाडौं – अनेकौं हलिउड र बलिउड फिल्ममा तपाईंले चोरीका रोमाञ्चकारी दृश्यहरू देख्नुभएको होला । यस्तै किसिमको चोरी वास्तविक जीवनमा स्विडेनमा भएको छ ।
दुई चोरले स्विडेनको एक सानो बस्तीको चर्चमा भएका करोडौं रुपैयाँबराबरका ऐतिहासिक र मूल्यवान गरगहना चोरेर भागे ।
चोरी बडो बठ्याइँका साथ गरियो र चोरहरू स्पीडबोटबाट भागे । ठूलो भीडभाडमा चोरहरूले १७औं शताब्दीका यी गरगहना उडाइदिए ।
चोरी गरिएका सामान एउटा प्रदर्शनीमा राखिएका थिए । त्यतिखेर निकै भीडभाड थियो । चोरहरूले सुरक्षा शीशा फुटाएर महंगो गहना चोरे ।
चोरी हुँदा सेक्युरिटी अलार्मले काम गर्न बन्द गरिदिएको थियो ।
चोरी हुँदा कोही पनि घाइते भएको खबर छैन ।
प्रहरीले भन्यो, ‘सबै कुरा एकदम छिटो भयो अनि चोरहरू जेट स्की लिएर भाग्न सफल भए ।’
घटना राजधानी स्टकहोमबाट ६० किलोमिटर टाढा भएको हो । प्रहरीले बतायो, ‘चोरहरूले राजा कार्ल नवौं र रानी क्रिस्टियानाका मुकुट चोरे । राजाको मुकुट सुनले बनेको थियो र त्यसमा महंगा क्रिस्टल र मोतीले सजाइएको थियो । रानीको मुकुटमा पनि महंगा मोती जडिएका थिए ।’
चोरिएको सामानको ऐतिहासिक महत्त्व छ । यो राष्ट्रिय सम्पदा भएकाले यसलाई किन्ने मानिस पाउन असम्भव छ ।
स्विडेन प्रहरीको राष्ट्रिय कारवाही विभागकी सदस्य मारिया एलियरले यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने प्रयास हुनसक्ने बताउँदै इन्टरपोललाई सूचना दिइएको र अन्तर्राष्ट्रिय स्तरमै सामान बरामद गर्नका लागि कारवाही चलाइने बताइन् ।
एजेन्सी