
धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा बिहीबार हाइसले ठक्कर दिँदा १ जना पैदल यात्रुको मृत्यु भएको छ भने हाइसमा सवार ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपालगन्जबाट धनगढी फर्किदै गरेको भे१ज ६३५ नम्बरको हाइसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको मृत्यु भएको हो । बाटो काट्ने क्रममा उनलाई हाइसले ठक्कर दिएको थियो ।
उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए । ठक्कर दिएर अनिन्त्रित भएको हाइस नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । जसमा सवार ११ जना यात्रु घाइते भएको प्रहरी प्रवक्ता ओलीले बताए ।
उनका अनुसार घाइते हुनेमा बर्दियाकी सिता थापा, नेउपलापुर बर्दियाका महावीर थारु, ठाकुरबाबा बर्दियाका झुमा खड्का, तारा ताल बर्दियाकी नन्दकला सुनार रहेका छन् ।
कैलालीको कैलारी गाउँपालिका–८ की यमुना गौतमर उनका पति टंक बोहरा, हसुलियाका रमिता चौधरी र रमिताकी ३ वर्षीया छोरी श्रेय चौधरी, धनगढी उपमहानगरपालिका रतिपुरकी समीक्षा मल्ल र पवित्रा सुनार रहेका छन् । साथै, पर्शुराम नगरपालिका डडेल्धुराका मोती भट्टराई पनि घाइते भएका छन् ।
घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पताल र शितल मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।