०३ असार २०८३, बुधबार

जिम्बाब्वेमा हिंसापछि असहज शान्तिको अवस्था

जिम्बाब्वेमा हिंसापछि असहज शान्तिको अवस्था

काठमाडौं – जिम्बाब्वेको राजधानी हरारेमा बुधवार सैनिक तथा प्रहरीहरू सयौं विरोधकर्ताहरूसँग भिडेर हिंसा मच्चिएपछि आज असहज शान्तिको स्थिति छ । हिंसामा तीनजनाको मृत्यु भएको थियो ।

जिम्बाब्वेको राष्ट्रपतीय निर्वाचनको परिणाम आउनेबित्तिकै तनावको स्थिति आएको थियो । विपक्षी दल एमडीसीले निर्वाचनमा धाँधली भएको बताउँदै परिणाम स्वीकार गर्न मानेको छैन । 

लामो समय सत्तामा रहेका निरंकुश शासक रोबर्ट मुगाबेको पतनपछि भएको पहिलो आमनिर्वाचनले जिम्बाब्वेमा नयाँ युगको सूत्रपात गर्ने आशा गरिएको थियो । तर मुगाबेकै दल जानु–पीएफले बहुमत ल्याएको घोषणा भएपछि विपक्षीहरू भड्किएका थिए । 

सैनिकहरूले राजधानीका सडकमा गस्ती गरिरहेका छन् । बुधवार प्रहरीले प्रदर्शनकारीमाथि गोली, आँसुग्यास र पानीको फोहरा फ्याँकेका थिए । 

बिहीवार अधिकांश पसलहरू बन्द छन् अनि सवारी आवागामन पनि कम नै छ । छरिएका फोहर, आगोले ढडाएका अवशेष र केही दर्जन सैनिकको उपस्थितिले अघिल्लो दिनको हिंसाको कथा भन्छ । 

जानु–पीएफ दलबाट राष्ट्रपति बनेका इम्मरसन म्नाङग्वाले विपक्षी नेता नेल्सन चमिसासँग सम्पर्कमा रहेको र कसरी अहिलेको परिस्थितिलाई शान्त बनाउने भन्ने विषयमा कुराकानी गर्ने भनी ट्वीट गरेका छन् । 

उनले बुधवार भएका मृत्युको स्वतन्त्र छानबिन हुनुपर्ने बताए अनि पीडितका परिवारप्रति समवेदना प्रकट गरे । ‘यो भूमि हामी सबैको घर हो र हामी यहीँ नै डुब्ने वा पौडने हो,’ उनले भने ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्