
काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो ।
प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।
यता, राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।
जोशीको योग्यतामाथि १५ वर्षअघि नै ‘प्रश्न’
न्याय सम्पादनका क्रममा गम्भीर त्रुटि गरेकाले कार्यक्षमताको अभाव रहेको भनी प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि करिब १५ वर्षअघि नै न्यायिक टिप्पणी उठेको भेटिएको छ ।
गाँजा बरामद भएको लागू औषधसम्बन्धी एक मुद्दामा जोशीमाथि सर्वोच्च अदालतकै संयुक्त इजलासले न्यायिक टिप्पणी उठाएको हो । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश भैरवप्रसाद लम्साल र न्यायाधीश बलराम केसीको संयुक्त इजलासले २०६१ पुस ११ गते उक्त मुद्दामा प्रस्तावित प्रधानन्यायाधीश जोशीका साथै अर्का न्यायाधीश विश्वनाथ जोशीमाथि छानबिन र कारबाहीका लागि न्यायिक टिप्पणी उठाएको थियो ।
‘आरोपितहरूलाई निर्दोष ठहर गर्ने पर्याप्त आधार र प्रमाण नदेखिएको अवस्थामा’ फैसलामा भनिएको थियो, ‘कार्यक्षमताको प्रश्न भएको देखिएको र पुनरावेदकबाट न्यायिक टिप्पणीको मागसमेत भएकाले विश्वराज जोशी र दीपकराज जोशीको कार्यक्षमताको मूल्यांकनसमेतका लागि न्यायपरिषद् सचिवालयमा पठाउने गरी न्यायिक टिप्पणीसमेत जारी हुने ।’ यो आदेश २०६१ वैशाखको सर्वोच्च अदालत बुलेटिनमा प्रकाशित छ ।, कान्तिपुरमा खबर छ ।
प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोेल्नुभएको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो ।
बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताए ।
।
आरोप/प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौँ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप/प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उहाँले प्रतिपक्षले आफ्नो भूमिका निर्बाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाउनुभयो ।
प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्मत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराउनुभयो ।
९० जना पक्राउ
नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा अनुसन्धानका लागि प्रहरीले ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर प्रहरीले शंकास्पद ९० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको हो ।
९२ स्थानीय तहको नाम परिवर्तन
९२ स्थानीय तहको साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो ।
अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए ।
एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताए ।
नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘सी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘ई’ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन मौका दिएको छ ।
यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिन मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइ सक्नुपर्ने व्यवस्था गरेको छ ।
बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आगामी २१ दिनपछि मात्रै उपलब्ध गराउने र ‘डी प्लस’ को हकमा भने ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने भएमा मात्रै यस्ता प्रमाण पत्र दिइने उहाँको भनाइ थियो ।
फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक
‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ । अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो ।
कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन् । कोजी शुक्रबार जापान फिर्ता हुँदैछन् । सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो । उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपाल–नेदरल्याण्ड्ससँग भिड्दै
दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो अवसर हो ।