
विराटनगर– विराटनगरको बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरी फरार भएका संचालक मध्येका मुख्य नाइके पोखराबाट पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले अाइतवार दिउँसो पोखराबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरि पोखराबाट पक्राउ परेका श्रेष्ठलाई हवाइ मार्गबाट विराटनगर ल्याउन लागिएको छ ।
विराटनगर – १ बुद्धचाेकस्थित घरमा भएका श्रेष्ठले सहकारीको करडौं रुपैयाँ अपचलन गरी उनले पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बताइन्छ । लामो समयदेखि विराटनगर –९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीको १ सय ३८ जना बचतकर्ताको जाहेरीमा २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आइतवारसम्म जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको डिएसपी थापाले जानकारी दिए ।
प्रहरीको अनुसार बचतकर्ताको जाहेरी पर्ने क्रम बढदै गएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसा अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । रकम अपचालनमा संलग्न इश्वर पक्राउ परेका भए पनि अन्य संचालक फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई पोखराबाट काठमाण्डौ र काठमाण्डौबाट हवाइमार्ग हुँदै विराटनगर ल्याउन लागिएको छ । सहकारीको कराडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको एलोबेरा जुस फ्याक्ट्रीबाट पक्राउ परेका हुन् ।