१२ असार २०८३, शुक्रबार

मुख्य समाचार : हचुवाको भरमा गरिबको वर्गीकरण, लगातारको वर्षाले विभिन्न स्थान डुबानमा

मुख्य समाचार : हचुवाको भरमा गरिबको वर्गीकरण, लगातारको वर्षाले विभिन्न स्थान डुबानमा

काठमाडौं– संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले पूर्णता पाएका थिए । 

प्रतिनिधिसभाका अन्तर्गतका अधिकांश समितिका बैठक सोमबारदेखि शुरु हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।     विसं २०७४ फागुन २१ गते ती दुवै सदनका पहिलो बैठक बसेका थिए । 

ती दुवै सदनको यही साउन १७ गते बसेको अलगअलग बैठकले विषयगत समितिमा रहनुहुने सांसदका नामावली सर्वसम्मतिले अनुमोदन गरेको थियो । अनुमोदनसँगै मिनि पार्लियामेन्टको बैठक बस्ने बाटो खुलेको हो । संसदीय प्रणालीमा संसदीय समितिलाई संसद्का मुटु मानिन्छ । 

प्रतिनिधिसभामा १० वटा र राष्ट्रियसभामा चार वटा विषयतगत समिति गठन भएका छन् । अब ती विषयगत समितिमा सरकारद्वारा प्रस्तुत विधेयकका धारा धारामाथि बहस प्रारम्भ हुनेछ । संविधानअनुसार मौलिक हक कार्यान्वयन गर्न अगामी असोज ३ गतेभित्र सरकारले विधेयकलगायत अन्य विधेयकसमेत सदनमा प्रस्तुत गरिसक्नुपर्ने बाध्यकारी स्थिति छ । 

हचुवाको भरमा गरिबको वर्गीकरण
सरकारले पहिले २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरेको थियो । रुकुुम दुईवटा जिल्लामा विभाजित भएपछि २६ जिल्ला भएको छ । ती २६ जिल्लामा २७ लाख ८८ हजार ७ सय ४४ जनसंख्या गरिब देखिएको छ । 

२६ जिल्लामा ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवार गरिब रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयको तथ्यांक छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डका निर्देशक रामहरि गैरेका अनुसार ती घरपरिवारमध्ये ५० प्रतिशत अति गरिब, ३० प्रतिशत मध्यम गरिब र २० प्रतिशत सामान्य गरिबमा पर्छन् ।

सरकारले असारबाट २६ जिल्लाका ३ लाख ९१ हजार आठ सय ३१ घरपरिवारलाई गरिबी परिचयपत्र वितरण सुरु गरेको छ । 

सुविधाबारे सरकारले सोचेको छैन– ‘अहिलेसम्म के–के सुविधा गरिब परिवारलाई उपलब्ध गराउने भन्ने निक्र्योल भइसकेको छैन,’ गैरेले भने । गैरेका अनुसार बोर्डले आन्तरिक रूपमा छात्रवृत्ति, युवा स्वरोजगार कार्यक्रम, खाद्यान्नमा सहुलियतजस्ता केही सुविधा दिन सकिने प्रस्तावमाथि छलफल भइरहे पनि टुंगो लागेको छैन । 

हचुवामा गरियो  गरिबको वर्गीकरण– बोर्डले हचुवाको भरमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर घरपरिवार पहिचान गरेको छ । परिभाषित गरिएका अति गरिब, मध्यम र सामान्य गरिब के आधारमा छुट्याएको भन्ने प्रस्ट छैन । बोर्डले कुल गरिब भनेर पहिचान गरेका परिवारमध्ये ५० प्रतिशत अति गरिब, ३० प्रतिशत मध्यम गरिब र २० प्रतिशत सामान्य गरिब भनेर संख्या तोकेको छ । बोर्डको कार्यालयमा जम्मा भएको संख्यालाई अनुमानका भरमा प्रतिशतमा भाग लगाइएको हो ।, नयाँ पत्रिकामा खबर छ।

सात विधेयक संसद्मा पेश गरिने
सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।

लगातारको वर्षाले भक्तपुर डुबानमा
लगातारको वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् । 

हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् । खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ । खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो । 

बाढीका कारण सयौं घर, मठमन्दिर र विद्यालयहरु डुबानमा परेका छन् । रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ । बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो । कारण भक्तपुरमा ३ जनाको ज्यान जानुका साथै करोडौंको क्षति भएको थियो ।

यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

पहिरोमा पुरिएर आठ जनाको मृत्यु
जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका¬ ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । 

त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ । नलगाड–१ डाँडागाउँका ८ वर्षीय  गोविन्द परियारको लाश फेला परेको छैन । 

पहिरोका कारण सल्यानका सात सय घर जोखिममा
लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।
    
जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको  भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिए । 

जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ । 

नुरप्रसादलाई झिकाउन आदेश
जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले उक्त आदेश गरेको हो । 

शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पु¥याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । 

दुई विधेयक विधायन समितिमा
गण्डकी प्रदेशसभाको बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई विधायन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा
सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ ।

सो एशोसिएशनले पत्रकार सम्मेलन गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थी कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ ।

एशोसिएशनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कूल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहेपनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताए ।

कामु प्रधानन्यायाधीश मिश्रले तोके पेशी 
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशकोे हैसियतले मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन् ।

जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उनी आइतबारदेखि बिदामा बसेकाले मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा काम शुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

प्रदेश नं ५ : तीन विधेयक सर्वसम्मतिले पारित
प्रदेश नं ५ मा आइतबार बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा  व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं  ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

स्वीजरल्याण्डमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु
स्वीजरल्याण्डको एल्प्स हिमालमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । जहाजमा रहेका १७ यात्री, चालक दलका दुई सदस्य र एक परिचर गरी २० जनाको मृत्यु भएको हो । 

स्वीजरल्याण्डको सीमावर्ती शहर लोकार्नोबाट दुवानदर्फका लागि उडेको जहाज शनिबार दुर्घटनामा परेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनापछि विमान कम्पनी जेयु एयरलाइन्सले सबै उडान स्थगित गरेको छ । 

नेपाली क्रिकेट टिम आज फर्कदै
पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली सोमबार बिहान स्वदेश फर्कदैछ । नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससँग २ एक दिवसीय खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्