
काठमाडौं– सन् २०१३ को अफ्रिकन कप अफ नेसनका खेलका क्रममा घुस खाएर नतिजामा असरपार्ने रेफ्रीसहित २१ जना कारबाहीमा परेका छन् ।
अफ्रिकन फुटबल महासंघले घुस खाएर नतिजामा असर पारेको ठहर गर्दै सातजना फुटबल रेफ्रीलाई प्रतिबन्ध र १४ जनालाई निलम्बनको कारबाही गरेको हो ।
घानाका सात जना रेफ्री, १४ सहायक रेफ्री र एक जना अफिसियलले खेल भावनाविपरीत अपराध गरेको महासंघले ठहर गरेको छ । महासंघले घानाका सातजना रेफ्री, सहायक रेफ्री र एक जना अफिसियललाई १० वर्ष प्रतिबन्ध लगाएको छ ।
यसैगरी महासंघको अनुशासन बोर्डले विभिन्न देशका १४ जना रेफ्री र सहायक रेफ्रीमाथि निलम्बन गरी छानबिन गरिरहेको छ । महासंघले गत महिना मात्र खेलका क्रममा विभिन्न देशका अफिसियलसँग घुस लिएको ठहर गर्दै १८ जनालाई प्रतिबन्ध गरेको थियो ।
यसैगरी महासंघले गत महिना रुसमा भएको विश्वकपमा सहभागी ११ जना अफिसियल र केन्याका सहायक रेफ्रीमाथि प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।