बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो ।
वडा नम्बर १४ बाट शुरू गरिएको अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरबासीको सुविधाका लागि पुराना घरको नक्सा पास सम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै ५ हजार घरहरू रहेको बताइन्छ । प्रक्रियामा रहेका यिनै घरहरुको नक्सा पास सम्बन्धी कार्य वडा कार्यालयबाट हुने भएको हो । नगरपालिकाले २०७० सालभन्दा अघि बनेका घरहरुको नक्सा पासका लागि गत चैत महिनासम्म छुट सुविधा दिएको थियो ।
नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाएपनि नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासी लाभान्वित हुने छन् । नगर प्रमुख बासुदेव घिमिरेले वडा नम्बर १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर शुरू गरेको अभियान वडा नम्बर १३ मा लगत्तै सञ्चालन हुनेछ ।
नगर प्रवक्ता सुरेन्द्र श्रीका अनुसार बिहीवार र शुक्रवार बाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोलीले अभियान नसकिँदा सम्म सम्बन्धित वडामा नै रहेर सेवा प्रवाह गर्नेछ । १४ नम्वर वडा अध्यक्ष सोहनप्रसाद थारुले घर नक्साको काम वडाबाट हुँदा सेवाग्राहीलाई धेरै राहत मिलेको बताए ।
इन्जिनियर मनिष खनालले अभियानबाट प्रक्रियामा रहेका झण्डै ८० प्रतिशत घरको नक्सा पास सम्पन्न हुने विश्वास व्यक्त गरे ।