
काठमाडौं– सेवा प्रवेश गरेको छोटो अवधिमै करौडौं रकम भ्रष्टाचार गरेको आरोप लागेका उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् ।
विशेष अदालतले बिहीवार ढकाललाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशहरु चण्ढीराज ढकाल, प्रमोद बैद्य र नारायणप्रसाद पोखरेलले इजलासले ढकालललाई थुनामा राख्ने आदेश दिएको हो ।
वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई नियन्त्रणमा लिएको थियो ।
गत वैशाख १२ गते पक्राउ परेका ढकालमाथि छानबिन गर्दा २ वर्षको अवधिमा उनले ७ करोड रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले गत आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।