
काठमाडौं – अब कसैलाई अपमानजनक ढंगले गाली गरेमा एक वर्षसम्म कैद सजाय हुने भएको छ ।
आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको फौजदारी अपराध (संहिता) ऐन – २०७४ मा यससम्बन्धी व्यवस्था छ ।
ऐनको दफा ३०५ को उपदफा (१) मा भनिएको छ–
'कसैलाई गाली गर्न हुँदैन ।'
उपदफा (२) मा केलाई गाली मान्ने भन्ने विषयमा प्रस्ट पारिएको छ ।
सो उपदफामा भनिएको छ–
'उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिने छ ।'
उपदफा (३) मा सजाय उल्लेख छ ।
'उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।'