२५ जेठ २०८३, सोमबार

जिल्ला हाँक्ने सीडीओका ‘एक्ला चालक’

साउन २६, २०७५
जिल्ला हाँक्ने सीडीओका ‘एक्ला चालक’

बुटवल – रूपन्देहीमा २०५० सालदेखि अहिलेसम्म ३१ वटा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिए । कार्यकारी प्रमुखको रूपमा जिल्ला हाँक्ने व्यक्ति प्रजिअ नै छन् । तर, ती ३१ वटा प्रमुख जिल्ला अधिकारीको सवारी हाँक्ने चालक एउटै व्यक्ति छन् । ती हुन् – पुनारामप्रसाद न्यौपाने ।

जिल्ला हाँक्ने सरकारी अधिकारीको सवारी हाँक्ने काम सामान्य जिम्मेवारीको पक्कै होइन । जतिबेला जहाँ पनि जानुपर्ने हुन्छ । ‘टेन टु फोर’ जस्तो काम होइन यो । यस्तो संवेदनशील र महत्वपूर्ण जिम्मेवारीलाई न्यौपानेले हालसम्म कुशलतापूर्वक पूरा गरेका छन् । रुपन्देहीका २०५० सालका तत्कालीन प्रमुख जिल्ला अधिकारी पुरूषोत्तम भट्टराईदेखि वर्तमान सीडीओ उदयबहादुर राना प्रयोग गर्ने सवारीसाधन न्यौपानेले हाँकिरहेका छन् ।
जिल्लाको बागडोर सम्हाल्ने सरकारी अधिकारीलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने जिम्मेवारीमा रहेका चालक न्यौपानेसँग जागिरे अवधिका धेरै अविष्मरणीय र रोचक अनुभूति छन् । उनले २०४५ सालमा लोकसेवा आयोगबाट मुखिया पदमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका हुन् । न्यौपानेले २०५० सालबाट रुपन्देहीका तत्कालीन सीडीओ भट्टराईको गाडी चालकको जिम्मेवारी पाएका थिए ।

त्यसपछि रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सुशीलकान्त झा, ईश्वर पोखरेल, खेमराज रेग्मी, खगेन्द्र पौडेल, ईश्वर पोखरेल, कृष्णमुरामी शर्मा, भोला सिलवाल, टीका अर्याल, ललितबहादुर थापा, श्यामप्रसाद मैनाली, ज्ञानकाजी शाक्य, गंगाबहादुर केसी, ताना गौतम, स्थानेश्वर देवकोटा, दीपक कुमार जोशी, धु्रवप्रसाद शर्मा, गंगादत्त अवस्थी, धु्रवराज वाग्ले, दुर्गाप्रसाद पोखरेल, नागेन्द्र झा, तारानाथ गौतम, लक्ष्मणकुमार थापा, दुर्गाप्रसाद पोखरेल, हरिकृष्ण गौतम, बालकृष्ण पन्थी, तोयम रायमाझी, विष्णुप्रसाद ढकाल र बिनोदप्रकाश सिंह, हरिप्रसाद मैनाली र उदयबहादुर रानाको सवारीसाधनमा हाकिँरहेका छन् उनले । 

चालक न्यौपानले २०३४ सालमा भैरहवाको नेसनल ट्रेनिङ सेन्टरबाट तालिम लिएर गाडीको लाइसेन्स निकालेका थिए भने २०३६ सालदेखि गाडी चलाउने थालेका थिए । २०४५ देखि २०५० सालसम्म उनले जिल्ला प्रशासन कार्यालयको अन्य गाडी चलाएका थिए । टनकपुर काण्डका क्रममा हालका कांग्रेस सभापति शेरबहादुर देउवालाई बुटवलबाट टनकपुर न्यौपानेले नै पुर्याएका थिए ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गुल्मी, पाल्पा, आर्घाखाँची, रोल्पा हुँदै नेपालगञ्जसम्म ८ दिन आफैले एक्लै चलाएर हिँडाएको न्यौपानेसँग अनुभव छ । ‘मेरो जागिरप्रति म सधै खुशी छ । तर, कहिलेकाहीँ घर परिवारलाई समय दिन नसक्दा आफूलाई नै न्यास्रो लाग्छ,’ न्यौपानले गुनासो गरे ।

उनलाई यस्तो संयोग पनि परेको छ । अहिलेसम्म बिरामी भएर अरूलाई गाडी चलाउन दिनुपर्ने अवस्था पनि देखिएन । न्यौपानेका अनुसार सीडीओको गाडी निकै सचेतपूर्वक चलाउनुपर्ने हुन्छ । कुनै सीडीओलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने । त्यसैले व्यक्तिको चाहना र आवश्यकता अनुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई छ । उनले आफूलाई यस मानेमा भाग्यमानी पनि ठान्छन् कि – अहिलेसम्म सीडीओको गाडी बाटोमा बिग्रिएको छैन । दुर्घटनाको त कुरै नगरौं ।

‘मैले ६०/७० को गतिमा गाडी हाँक्नुपर्छ,’ उनले भने, ‘मलाई अन्य गाडी चलाउनुभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र आनन्द लाग्छ । सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नुपर्ने मान्छे राख्न, झार्ने पनि गर्नु पर्दैन ।’
यत्तिका प्रजिअसँग हिमचिम हुँदा पनि उनले कसैबाट कुनै लाभ नलिएको दाबी गर्छन् । र, यसमा उनलाई गौरव पनि छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै परिश्रममा रमाउने मान्छु हुँ । प्रजिअको सवारी हाँक्न पाउँदा असाध्यै खुशी र गर्व लाग्छ,’ न्यौपानेले भने । यसै वर्ष उमेर हदका कारण सेवानिवृत्त हुन भएपनि अझै १ वर्ष थप गर्ने छन् । 

सेवा निवृत्त भएपछि न्यौपानले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत नायव सुब्बा तहबाट सेवानिवृत्त हुँदैछन् । उनको परिवारमा पत्नीसहित १ छोरा र २ छोरी छन् । 
रुपन्देहीमा २०५० सालदेखि हालसम्म २९ सीडीओ फेरिँदा अहिलेसम्म जिल्लामा जम्मा ३ वटा मात्र सवारी फेरिएको उनले जानकारी गराए । उनले सीडीओलाई बुटवल, भैरहवा, सैनामैना मर्चवार देवदह लगायत दैनिक ८ देखि १० ठाउँमा पुर्‍याउने पर्छ ।

उनले अहिलेसम्मका प्रमुख जिल्ला अधिकारीका फरक–फरक सोख पाएका छन् । उनका अनुसार वर्तमान सीडीओ विनोदप्रकाश सिंहलाई तीव्र गति मन पर्छ । यस अगाडिका सीडीओ विष्णुप्रसाद ढकालले न्यौपानेलाई बिस्तारै सवारी हाँक्न आग्रह गर्दथे । उनले २०४६ सालदेखि हालसम्म गाडी चलाउँदा कुखुराको चल्लादेखि भ्यागुतासम्म पनि देख्ने गरी छोएका छैनन् । यसैमा उनलाई गौरव लाग्छ ।

‘अझै मेरो जागिर अवधि १ वर्ष छ । ३५ वटा सीडीओका गाडी चलाउन पाइएलाजस्तोे छ,’ उनले छोटो समयमा सीडीओ फेरिने प्रवृत्तिप्रति अलिकति व्यंग्य पनि हाने । गुल्मी हुंगा झेदीमा २०१७ सालमा जन्मिएका न्यौपानेको हालको बसाइँ तिलोत्तमा–६ मणिग्राममा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्