१४ असार २०८३, आइतबार

धरहरा पुनः निर्माणमा अन्योल, तीनपटकसम्म प्रस्ताव स्थगित

साउन २७, २०७५
धरहरा पुनः निर्माणमा अन्योल, तीनपटकसम्म प्रस्ताव स्थगित

काठमाडौँ– भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । 

धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । 

पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । 

“मन्त्रिपरिषद् कार्यालयले छानविन गरेर मात्र प्रस्ताव खुला गर्न निर्देशन दिएपछि तीनपटकसम्म मिति सारियो, छानविनका काम सकेर साउन २९ गते ११ बजे प्रस्ताव खुला गर्ने तयारी भइरहेको छ”–उनले भने  । 

प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक÷लामा जेभी, सिआर ५ सिइसी÷स्वच्छन्द जेभी, कुमार÷सिएफइसी जेभी, जिआइइटीसी÷रमन जेभी, सिआइसिओ÷कालिका÷रसुवा जेभी छन् । जेसीजिआईसिसी÷आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको उनले बताए । 

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । 

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुर सहित ७२ मिटर अग्लो बन्नेछ । 

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टमेट तयार भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनः निर्माण कोषमा रु २४ करोडजम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताए । 

धरहराले गोश्वारा हुलाक कार्यालयलाई जग्गासमेत खालि गर्ने भएको छ । हुलाकलाई भवन खालि गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्