काठमाडौं – आइतवार सुपरकोपामा बार्सिलोनाले सेभियालाई २–१ गोलले हराएसँगै लियोनेल मेस्सी बार्साका सबभन्दा सफल खेलाडी बनेका छन् ।
यससँगै मेस्सीले क्लबका लागि ३३ उपाधि जितेका छन् र त्यसक्रममा आन्द्रेस इनिएस्ताको कीर्तिमान भंग गरेका छन् ।
यी अर्जेन्टिनी खेलाडीले विश्वकपपछि पहिलोपटक मैदानमा उत्रिँदै बार्सिलोनालाई जीत दिलाउन प्रमुख भूमिका खेले । यो खेल पहिलोपटक स्पेनबाहिर ट्युनिसियामा खेलिएको थियो ।
सेभियाले गोलको अग्रता लिएपनि मेस्सीले हानेको फ्रीकिक गोलपोस्टमा ठोक्किएर फर्केपछि जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । पछि उस्मान डेम्बेलेले टाढाबाट सुन्दर गोल गरेर बार्सिलोनाको जीत निश्चित पारेका थिए ।
ब्लाउग्राना भनी चिनिने बार्सिलोनामा इनिएस्ता लामो समयसम्म कप्तान रहेकोमा अब मेस्सी कप्तान भएका छन् ।
मेस्सीले क्लबका लागि चारचोटि च्याम्पियन्स लीग, नौचोटि ला लीगा उपाधि, ६ कोपा देल रे अनि कीर्तिमान पाँचचोटि बालोन दोर जितिसकेका छन् ।
मेस्सी आफ्नो पुरानो फर्ममा केही म्याचपछि नै फर्किनेछन् अनि यो सीजनको अन्त्यसम्ममा थप ट्रफीहरू जित्न सक्छन् ।
गोल डट्कमबाट