काठमाडौं– सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५ प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विधेयक छलफलका लागि बैठकमा पेस गरेका हुन् । मन्त्री यादवले पेश गरेको विधेयकमा नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।
सुवालले पेस गरेको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । मन्त्री यादवले विधेयक छलफलका लागि संसदमा ल्यैजाने क्रममा सुवालले विधेयकमा भएको स्वास्थ्य संस्थाको परिभाषामा निजी स्वास्थ्य संस्थालाई हटाइनुपर्ने भन्दै विधेयकको विरोध गरेका थिए ।
‘सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ स्वास्थ्य मन्त्रालयले तीन वर्ष लगाएर तयार पारेको थियो ।
उक्त विधेयकमा सुत्केरी महिला तथा शिशुको निःशुल्क स्वास्थ्य उपचार पाउने,प्रसूति विदाको अधिकार, प्रजनन् अधिकार, गर्भपतनको अधिकार लगायका विषय समेटिएका छन् ।