१३ असार २०८३, शनिबार

मुख्य समाचार : इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट- वैधानिकता दिने तयारी, खसीबोकामा समेत कर

मुख्य समाचार : इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट- वैधानिकता दिने तयारी, खसीबोकामा समेत कर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले ५ महिनाको अवधिमा गरेका कामहरूको सूची सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वर्तमान सरकारले ५ महिनाको अवधिमा गरेका कामहरूको सूची सार्वजनिक गरेको हो ।

गत फागुन ३ गते गठन भएको सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही, विकास निर्माणका कार्यमा तीव्रता आदिलाई आफ्नो मुख्य उपलब्धिको रूपमा व्याख्या गरेको छ । प्रधानमन्त्री ओलीको तस्वीरको ब्यानरसहित ७४ पृष्ठ लामो प्रतिवेदनमा सरकारले यसबीचमा गरेका कामहरूको व्याख्या गरिएको छ ।

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट
इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । 

इन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन । तर, सेवाप्रदायकले १ अर्ब रुपैयाँभन्दा बढी मर्मतसम्भारका नाममा उठाई ठगी गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

इन्टरनेट सेवाप्रदायकले उपभोक्ताबाट गैरकानुनी रुपमा असुल्दै आएको शुल्कलाई वैधानिकता दिन नियमावली नै संशोधन गर्ने सरकारको तयारी छ । इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा  शुल्क लगाएको सरकारले मूल्य समायोजनका नाममा यसअघि निःशुल्क भनिएको मर्मतसम्भार शीर्षकमा ५० प्रतिशतसम्म शुल्क लगाउन पाउने गरी कानून व्यवस्था गर्न लागेको छ ।, नयाँ पत्रिकामा खबर छ ।

समितिका सभापतिको निर्वाचन भदौ ५ मा 
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते  हुने भएको छ । समितिका सभापतिहरुको निर्वाचन भइनसकेकाले हाल बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । 

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति छन् ।

मुलुकी अपराध संहिता ऐनप्रति चिकित्सकको असहमति
भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन २०७४लाई संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संहिता संशोधन नभए भदौ १ गतेबाट बिरामी नजाच्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । 

संघले सोमबार पत्रकारसम्मेलन गर्दै भदौ १ गतेबाट देशभरका डाक्टरहरुले एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय गरेको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए । 

मुलुकी फौजदारी अपराध संहिताको दफा २३० को उपदफा ४ मा चिकित्सा सेवा दिँदा चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्मकैद हुने छ र अंगभंग भएका १५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

खसीबोकामा समेत कर
कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । 

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् । 

हमीबाट खरिद गर्ने व्इवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने ।, कान्तिपुरमा खबर छ ।

उपसचिवमाथि हातपात गर्नेलाई कारवाही 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई लिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ । आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने भएको हो । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गरेका थिए । 

विश्वकर्मालाई उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।  कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । 

आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । सरकारले चन्दा उठाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

तीन आयल स्टोरमा सिल
बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा सोमबार सिल गरेको छ । सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । 

तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिए । 

चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल 
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र विधेयकमाथिको संशोधनमाथि साउन ३१ गतेबाट दफावार छलफल शुरु हुने भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा  स्वास्थ्य समितिको सोमबार बसेको दोस्रो बैठकले सो विधेयक र विधेयकमाथि भएका २२ वटा संशोधनका दफादफामा सो दिनबाट छलफल चलाउने निर्णय गरेको हो । 

प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भई समितिमा पठाउने सर्वसम्मत निर्णय भएको थियो । सरकार र प्राडा गोविन्द केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदाअनुसार नै सो विधेयकमाथि एकल तथा संयुक्त गरी २२ वटा संशोधन दर्ता भएका थिए । 

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । 

सोमबार मध्याह्न महोत्तरी जिल्ला अदालतमा आफैँ हाजीर भएका राज्यमन्त्री शर्माको बयान र मुद्दाको बहसपछि जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले साधारण तारेखमा रिहा गरिएको हो । महोत्तरी ३ ‘क’ प्रदेशसभाबाट गत निर्वाचनमा निर्वाचित भएका शर्मालाई केही साता पहिलेमात्र मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले समाजकल्याण राज्यमन्त्री नियुक्त गरेका थिए ।

देशभर ९५ विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई ३ वर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । 

विभिन्न जिल्लामा ८ वटा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने समेत निर्णय गरेको छ । तालिम परिषद्को सोमवार बसेको बैठकले ती २ महत्त्वपूर्ण निर्णय गरेको परिषद्का सदस्य सचिव पुष्परमण बाग्लेले जानकारी दिए ।

साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा
भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत सोमबार आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।

हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ भने दुवै खेल जितेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो ।

त्यस्तै समूह ‘ए’ बाट भारत र भुटान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइलनमा नेपालले आगामी सोमबार भारतको सामना गर्नेछ भने भूटानले बंगलादेशको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्