
काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेको छ । तर, देशका अन्य भागमा भने बन्दको प्रभाव परेको छ । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका प्रेसर कुकर बम र शंकास्पद बस्तु नेपाली सेना तथा प्रहरीको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । धेरै जसो स्थानमा तर्साउनका लागि प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं– सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् । तर, निजी तथा सरकारी विद्यालय बन्द भने भएका छन् ।
ललितपुर– ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको प्रहरीले जनाएको छ ।
भक्तपुर– सूर्यविनायक र लोकन्थलीमा बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
रोल्पा– रोल्पा र प्युठानको सिमाना स्थल खुङग्रिमा हिजो साँझ बिष्फोटक पदार्थ पड्केको थियो । आजको बन्दले प्युठान र रोल्पामा यातायात, बजार र शिक्षण संस्था बन्द छन् ।
नवलपरासी– पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी भएको छ । भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो ।
अर्घाखाँची– बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।
गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताले सोमबार राति मसाल जुलुस निकालेका थिए । बन्दको प्रभाव गुल्मीमा परेको छ ।
रौतहट– पूवपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद बस्तु फेला परेको छ । निष्क्रिय बनाउन सेनाको टोली जाँदै छ ।
बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लाष्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ ।
विद्यार्थीलाई सास्ती–विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण राजधानीका अधिकांश कलेजहरु बन्द भएका छन् । कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका छन् ।