
काठमाडौं – लन्डनमा एउटा सुगाको अनौठो हर्कत सार्वजनिक भएको छ । उक्त सुगा तीन दिनसम्म एउटा छतमा बसिरहेको थियो । उद्धारकर्मीहरू उसलाई बचाउन छतमा पुग्दा उसले गाली बर्सायो ।
उत्तरी लन्डनको एडमन्टनस्थित एक घरको छतमा बसेको जेसी नामक घरपालुवा सुगा त्यहाँ बसेको तीन दिन बित्यो । सुगाका मालिक चिन्तित भए कतै प्यारो सुगा घाइते भएर छतबाट तल आउन नसकेको हो कि ?
त्यसपछि सुगामालिकले लन्डन फायर ब्रिगेडलाई फोन गरे । उद्धारकर्मीहरू आए ।
मालिकले उनीहरूलाई खानाको कचौरा लिएर जान र सुगालाई प्रेमपूर्वक ‘जेस्सी, आई लभ यू’ भन्न लगाए । यसो गरेमा सुगा नआत्तिने र सजिलै तल आउने मालिकको तर्क थियो ।
मेट्रो युकेबाट फायर ब्रिगेड टोलीका अधिकारी स्वालोले भने, ‘म त्यहीँ थिएँ । जेस्सीका मालिक टर्किस र ग्रीक दुवै भाषामा सुगासँग कुरा गर्थे । त्यसैले उनले उद्धारकर्मीलाई दुवै भाषामा ‘आऊ’ शब्द सिकाएर छतमा पठाए । फायर
फाइटर माथि पुगेपछि खानाको कचौरा अघि बढाए । जेस्सीले अलिकति खाना खायो । तर फायर फाइटरले आई लभ यू भन्दा सुगाले गाली गर्न थाल्यो ।’
फायर फाइटरले जेस्सीलाई नजिक आउन इशारा गर्दा सुगाले ‘फक अफ’ भनेर त्यहाँबाट उड्यो ।
उद्धारटोलीले त्यतिखेर पो थाहा पायो, सुगा त्यहाँ फसेको होइन रहेछ । ऊ त कुनै कुरामा रिस उठेर छतमा बसेको रहेछ ।
सुगा छतबाट उडेर पहिला त एउटा रुखमा पुग्यो अनि मालिककहाँ गयो ।
एजेन्सी