
काठमाडाैं- सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ ।
सरकारले औपचारिक रुपमा आयोजना गरेका कार्यक्रममा पुरुषका लागि लवेदा–सुरुवाल (दौरा–सुरुवाल-ढाकाटोपी) र महिलाका लागि साडी-चोलो अनिवार्य रुपमा लगाउनुपर्ने प्रावधान पुनः ल्याएको हो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरासुरुवाल र साडी-चोलोलाई हटाउँदै नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेका थिए । उनको यो निर्णयको चौतर्फी आलोचना समेत भएको थियो ।
तर ७ वर्षपछि तत्कालिन सरकारको निर्णय उल्टाउँदै कार्यविधि नै बनाएर गृह मन्त्रालयले दौरासुरुवाल-साडीचोलोलाई राष्ट्रिय पोशाकका रुपमा मान्यता दिएको हो ।
“नेपाली पोशाक भन्नाले नेपाली नागरिकले लगाउँदै आइरहेको महिलाको निमित्त जुनसुकै शैलीको चोलो-साडी र जुत्तासहितको पोशाक र पुरुषको निमित्त सेतो रंगको लवेदा-सुरुवाल, ग्रे-कालो कोट, भादगाउँले कालो टोपी र छालाको कालो जुत्ता सम्झनुपर्ने छ,” गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । -काराेबार दैनिकबाट