
काठमाडौं – उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई संसारको सबभन्दा गरीब राष्ट्रपति मानिन्छ । उनको अत्यन्त साधारण जीवनशैलीका कारण यसो भनिएको हो । राजनीतिबाट संन्यास लिएपछि उनले पेन्सन समेत लिएनन् ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी सन् २०१५ देखि उरुग्वे संसदमा सिनेटर पनि छन् । तर त्यो कार्यकाल सकिनुअघि नै मंगलवार उनले राजीनामा दिएका छन् ।
त्रियासी वर्षीय मुहिकाले लामो राजनीतिक यात्रामा थाकेकाले आफ्नो कार्यकाल पूरा गर्न नसक्ने बताएका थिए ।
मुहिकाले सिनेटकी अध्यक्ष तथा उपराष्ट्रपति लुसिया तोपोलान्स्कीसमक्ष राजीनामा बुझाए । लुसिया उनकी पत्नी हुन् ।
व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताए ।
वामपन्थी मुहिकाले राजीनामापत्रमा लेखे, ‘राजीनामा दिएपनि मेरो दिमागले काम गरुन्जेल म एकता र विचारको लडाईंबाट पछि हट्दिनँ ।’
मुहिका स्पष्टवक्ता थिए अनि सिर्जनात्मक भाषामा आफ्नो कुरा राख्ने गर्थे । उनले बहसका बेलामा कसैलाई दुःखी बनाएको भए त्यसका लागि माफी माग्छु भनेर समेत राजीनामापत्रमा लेखे ।
राष्ट्रपति हुँदा उनी विशाल राष्ट्रपति भवनमा बसेनन् । त्यतिखेरदेखि अहिलेसम्म उनी र उनकी पत्नी राजधानी मोन्टेभिडियोभन्दा बाहिर एक फार्महाउसमा बस्थे । दुवैजना विद्रोही समूहका हिस्सा थिए ।
राष्ट्रपतिकालमा उनले आफ्नो अधिकांश तलब दान दिएका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग एउटा फोक्सवागन बीटल कार मात्र बाँकी थियो ।
हल्का नीलो रंगको यो कार प्रसिद्ध भएपछि सन् २०१४ मा एकजनाले यसलाई किन्नका लागि १० लाख डलरको प्रस्ताव राख्यो । तर उनले यो कार नभई आफ्नो कुकुर कतै डुल्न जान नमान्ने भन्दै बेचेनन् ।
एकातर्फ उनका सहयोगीहरूले शुभकामना दिएका छन् भने सामाजिक सञ्जालमा उनका आलोचकहरू सन् १९६० र ७० को दशकमा विद्रोही समूहको सदस्य भएका नाताले हिंसाका लागि उनले माफी माग्नुपर्ने बताइरहेका छन् ।
बीबीसीबाट