
काठमाडौँ- तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि त्यसका भ्रातृ संगठन, मोर्चा, विभाग, जिल्ला, स्थानीय, नगर र प्रदेश समिति बीचको एकता अझै टुङ्गो लागेको छैन । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
मोर्चा, विभाग तथा तल्ला समितिबीच एकीकरण गर्नका लागि गठन भएको कार्यदलको म्याद सकिसकेको छ तर एकताको टुङ्गो भने अझै लागेको छैन । तत्लो तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि ३० वटा भन्दा बढी कार्यदल गठन गरिएको छ ।
नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘म्याद सकिए पनि दुईचार दिन तलमाथि हुनसक्छ । त्यसमा केही फरक पर्दैन प्रतिवेदनहरू आउँदैछन् सायद अब चाँडै टुङ्गो लाग्न सक्छ ।’
जेठ ६ गते बसेको नेकपाको सचिवालय बैठकले तीन महिनाभित्र सम्पूर्ण भ्रातृ संगठन तथा तल्ला कमिटीहरूको बीचमा चाँडै टुङ्गो लगाउने निर्णय भएको थियो । साउनको अन्तिम साता बसेको पार्टी सचिवालयको बैठकले साउनभित्र सम्पूर्ण कार्यदलले आआफ्नो प्रतिवेदन बुझाउने र भदौं ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रियाको टुङ्गो लगाउने निर्णय गरेको थियो । र, सो निर्णयको बारेमा सम्पूर्ण कार्यदललाई जानकारी पनि पठाइएको थियो ।
नेकपा पार्टी कार्यालय धुम्वाराही स्रोतका अनुसार हालसम्म कर्णाली प्रदेश र प्रदेश ५ ले मात्र प्रतिवेदन बुझाएका छन् । प्रदेश ५ मा २०३ सदस्यीय प्रदेश समिति रहनेछ । समितिमा तत्कालीन एमालेका १०६ र तत्कालीन माओवादी केन्द्रका ९७ जना रहने छन् । कर्णाली प्रदेशमा १७५ सदस्यीय समिति रहनेछ । जसमा तत्कालीन एमालेबाट ८७ जना र तत्कालिन माओवादी केन्द्रबाट ८८ जना रहने छन् । यो प्रदेशमा १० जिल्ला रहेका छन् ।