
जनकपुरधाम –प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ विकासका सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको छ ।
प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले तराई/मधेसको उर्बर भूमि सो प्रदेशको निकै ठूलो सम्पत्ति भएको बताउनुभयो ।
तराईको उर्बर भूमिमा जे पनि फल्ने भन्दै प्रधानमन्त्रीले भन्नुभयो – 'यहाँ लिची फल्छ, आँप फल्छ, जे पनि फल्छ ।'
यहाँबाट उत्पादित आँप निर्यात गरेर नै कमाउन सकिने उहाँको भनाइ छ ।
'क्यानडामा आँप फल्छ ? अमेरिकामा आँप फल्छ ? रसियामा आँप फल्छ ? मंगोलियामा आँप फल्छ ? जापानमा आँप फल्छ र ?' प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– 'आँप मीठो नलाग्ने कोही हुँदैन । तर हामीले पठाइदिनुपर्छ उहाँहरूलाई, हामीले पठाइदिए मात्र खाने हो ।'
साथै उहाँले कृषिको आधुनिकीकरण गरेर उत्पादन चारगुणासम्म बढाउन सकिने बताउनुभयो ।