
काठमाडौं – एघार दिनअघि यमनको एक स्कूल बसमा साउदी अरब गठबन्धनको युद्धक विमानले प्रहार गरेको बम अमेरिकाले रियादलाई बेचेको भग्नावशेषको विश्लेषणले देखाएको छ ।
अगस्ट ९ मा भएको उक्त आक्रमणमा ६ देखि ११ वर्ष उमेरका ४० बालकहरू मारिएका थिए भने ११ जना वयस्क पनि मारिएका थिए । स्थानीय अधिकारीहरूका अनुसार, ७९ जना घाइते भएका थिए र तीमध्ये ५६ बालबालिका थिए ।
सीएनएनले रिपोर्ट गरेअनुसार, २२७ किलो लेजर–निर्देशित बम लकहीड मार्टिन कम्पनीले बनाएको हो । अमेरिकाले साउदी अरबलाई बेचेका हजारौं बममध्ये यो एक हो ।
साउदी अरब अमेरिका र बेलायत दुवै देशको हतियार उद्योगका सबभन्दा ठूलो ग्राहक हो । अमेरिकाले साउदी गठबन्धनलाई विमानमा इन्धन भर्ने र जासूसी गर्ने काममा पनि सहयोग गर्छ ।
एजेन्सी