नयाँदिल्ली – भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीले पूर्व केन्द्रीय मन्त्री मणिशंकर अयरलाई गरिएको निलम्बनको निर्णय तत्काल कार्यान्वयन हुने गरी रद्द गरेका छन् ।
उनले अघिल्लो वर्ष गुजरात विधान सभाको चुनावको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘तल्लो स्तरको मानिस’ भनेका थिए । यही कारण पार्टीले अयरलाई निलम्बित गरेको थियो ।
कांग्रेसका संगठन महासचिव अशोक गहलोतको तर्फबाट जारी गरिएको वक्तव्य अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको सिफारिसमा राहुल गान्धीले अयरलाई पार्टीको साधारण सदस्यताबाट गरिएको निलम्बन तत्काल कार्यान्वयन हुनबाट रद्द गर्ने स्वीकृति प्रदान गरेका छन् ।
अयरले अघिल्लो वर्षको डिसेम्बरमा गुजरातमा भएको चुनावको केही दिनअघि मात्र प्रधानमन्त्रीको बारेमा विवादित टिप्पणी गरेका थिए । यसलाई मोदी र भाजपाले चुनावी सभामा ठूलो मुद्दा बनाएका थिए ।