काठमाडौं,
९ फागुन – सत्तारुढ दल (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ) तथा मधेसी मोर्चाबीचको वार्ता निश्कर्षविहिन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेरसम्म चलेको वार्तामा मधेसी मोर्चाले पहिला संविधान संशोधन विधेयक पारित हुनुपर्ने र त्यसपछि मात्रै चुनावको मिति घोषणा हुनुपर्ने आफ्नो पूरानै अडान कायम राखेपछि वार्ता निश्कर्षविहिन बन्न पुगेको हो ।
वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेकाले त्यसमा आवश्यक सहयोग गर्न मधेस केन्द्रित दलका नेतालाई आग्रह गरेका थिए ।
तर प्रधानमन्त्रीको आग्रहलाई मधेस केन्द्रित दलका नेताले भने तत्काल स्वीकार गर्न आफूहरुलाई असजिलो हुने धारणा राखेका थिए ।
वार्तामा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेतालाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री मधेसमा जनसङ्ख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको सङ्ख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सञ्चालन हुने संसद्बाट संविधान संशोधन विधेयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेतालाई आग्रह गरेका थिए ।
मोर्चाका नेताहरुले मोर्चाको मुख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुङ्गोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।
सरकारले सोमबार चुनावको घोषणा गर्ने सम्भावना रहेको छ । तर मधेसी मोर्चाले भने आफूहरुको सहमति बिनै चुनावको घोषणा गरिए आन्दोलनमा होमिने चेतावनी दिएको छ ।
यसअघि शनिबारको मधेसी मोर्चासँगको प्रधानमन्त्रीले गरेको छलफलमा पनि मोर्चाले संशोधनकै माग अघि सारेपछि आइतबार बिहान सत्तारुढ दलको बैठक बसेर चुनावको मिति तत्काल घोषणा गर्ने समझदारी बनेको थियो भने मोर्चासँग अन्तिम पटक वार्ता गर्ने निर्णय भएको थियो । सोहि अनुसार शनिबार साँझ सत्तारुढ दल र मोर्चाबीच वार्ता भएको हो ।
शनिबारको वार्तामा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेसी मोर्चाका नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठलगायतका नेता सहभागी रहेका थिए ।
प्रम र आयोग पदाधिकारीबीच निर्वाचनबारे परामर्श
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणाका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ नै भएको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति घोषणा, आयोगको तयारी र सरकारको तयारीका बारेमा कुराकानी भएको थियो ।
सो क्रममा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने आवश्यक तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।
निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा आयोगका पदाधिकारीले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गराउन सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्णरुपले सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले हालसम्म गरेको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।