
काठमाडौं — इंग्ल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा पाँच टेस्टको शृंखला खेलिरहेको भारतले तेस्रो टेस्टमा २०३ रनको जीत हासिल गरेर इज्जत जोगाएको छ ।
पहिलो दुई टेस्टमा लज्जास्पद हार बेहोरेको भारतको यो जीतसँगै शृंखलामा आशा कायम रहेको छ ।
जीतका लागि ५२१ रनको असम्भव लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौं दिनमा ३१७ रनमा अलआउट भएको थियो ।
अन्तिम दिन तीन ओभर मात्र टिकेको इंग्ल्यान्डका जेम्स एन्डरसनलाई रविचन्द्रन अश्विनले आउट गरेपछि इंग्ल्यान्डको पराजयले पूर्णता पाएको थियो ।
भारतको जीतमा कप्तान विराट कोहली र बलरहरू हार्दिक पाण्ड्या र जसप्रीत बुमराहको प्रमुख भूमिका रह्यो । कोहलीले पहिलो इनिङमा ९७ अनि दोस्रो इनिङमा १०३ रन बनाए ।
उता पाण्ड्याले पहिलो इनिङमा अनि बुमराहले दोस्रो इनिङमा पाँच पाँच विकेट लिएर इंग्ल्यान्डको ब्याटिङ लाइनअप ध्वस्त पारे ।
टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा कोहलीको ९७ रनको मद्दतले ३२९ रन बनाएको थियो । कोहलीलाई अजिंक्या रहाणेले ८१ रन बनाएर राम्रो साथ दिएका थिए । उनीहरूका बीच चौथो विकेटका लागि १५९ रनको साझेदारी बनेको थियो ।
इंग्ल्यान्डका लागि जेम्स एन्डरसन, स्टुआर्ट ब्रोड र क्रिस वोक्सले तीन तीन विकेट लिए ।
जवाफमा इंग्ल्यान्डले पहिलो इनिङमा अत्यन्तै खराब ब्याटिङ गर्दै जम्मा १६१ रन बनायो । उसका लागि सर्वाधिक स्कोर जोस बटलरको रह्यो र उनले जम्मा ३९ रन बनाए ।
भारतका लागि पाण्ड्याले पाँच, बुमराह र इशान्त शर्माले दुई दुई अनि मोहम्मद शमीले एक विकेट लिए ।
पहिलो इनिङमा १५८ रनको विशाल अग्रता प्राप्त गरेको भारतले दोस्रो इनिङमा सात विकेटको क्षतिमा ३५२ रन बनाएर पारी घोषणा ग–यो ।
भारतका लागि कोहलीले शतक प्रहार गर्दै १०३ रन बनाए भने चेतेश्वर पुजारीले ७२ र पाण्ड्याले ५२ बलमा ५२ रन बनाए ।
इंग्ल्यान्डका लागि आदिल राशिदले तीन विकेट लिए तर त्यसका लागि १०१ रन खर्चिए । बेन स्टोक्सले दुई र एन्डरसन तथा वोक्सले एक एक विकेट लिए ।
५२१ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले सुधारिएको ब्याटिङ प्रदर्शन गर्दै चौथो दिनको खेल अन्त्य हुँदासम्म नौ विकेट गुमाएर ३११ रन बनायो । जोस बटलरले शतक प्रहार गर्दै १०६ रन बनाए अनि उनलाई स्टोक्सले ६२
रनका साथ सहयोग गरे ।
बटलर र स्टोक्सबीच पाँचौं विकेटका लागि १६९ रनको साझेदारी भएबाहेक अन्य ब्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् ।
भारतका लागि बुमराहले पाँच विकेट लिए । इशान्त शर्माको नाममा दुई विकेट रह्यो भने शमी र पाण्ड्याले एक एक विकेट हात पारे ।