
काठमाडौं– विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताए ।
उनले भने “यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भएको छ । सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ ।”
वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री विष्टले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याएर अस्पतालमा राख्न पहल गरिरहेका छन् ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् । कमाई गर्ने व्यक्ति नै कोमामा पुगेपछि आश्रीत परिवार आर्थिक तथा मानसिक रुपमा विक्षिप्त हुँदै आएका छन् ।