
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको १७ जिल्लाको नेतृत्व टुंगिन बाँकी छ । ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन नसकेको हो ।
प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । नेकपाले एकीकरण कार्यदललाई आजसम्म प्रतिवेदन बुझाइसक्न अन्तिम समयसीमा तोकेको छ ।
कार्यदल तहमा टुंगो नलागेका जिल्ला र प्रदेशहरूको हकमा जस्ताको तस्तै प्रतिवेदन बुझाउनुपर्ने निर्णय भइसकेको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ६५ जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।