
विराटनगर– मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाइबाट बिरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा निधन भयो ।
बाबुको मृत्यु भएपछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए, १४ वर्षका जेठो छोरा दिपक, ७ वर्षका राजिव र ५ बर्षका रोशन राजबंशी । तर यो आमाको ममता पनि टिकिरहन सकेन । दैवको लिला ती अवोध बालकहरूलाई आमाको काख पनि छुट्यो ।
सन्तोषीको पनि सेतो लामखुट्टेको टोकाइबाट उपचार हुन नसकेर ज्यान गयो । पैसा अभावका समयमा उपचार गर्न लैजाने कोही नभएपछि उनको मृत्यु भएको स्थानीय बताउँछन् । साउन २४ गते सिकिस्त बिरामी भएकी उनलाई उपचारका लागि रंगेलीकोे टाईम्स अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसक्ने भन्दै सन्तोषीलाई विराटनगर रेफर गरियो । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गराउने क्रममा ज्यान गएको हो ।
अहिले स–साना बच्चा टुहुरा अवस्थामा छन् । उनीहरू हरेक दिन आमालाई खोज्दै आँसुका धारा बगाउँछन् । मृतक सन्तोषी की ७० वर्षिय आमा कृष्णावती राजबंशीले नातीहरूको रेखदेख गर्दै आएकी छिन् ।
उनले गहभरी आँसुपार्दै भनिन्, ‘जब रात ढल्दै जान्छ नातीहरू मेरो आमा खै भन्दै सोध्न थाल्छन र रुन थाल्छन् ।’ राति निन्द्रमा समेत उठेर आमा खै भन्दै रुने कराउने गरेको उनले सुनाइन् ।

अहिले यो घरमा भात खाने चामल समेत नहुँदा बालकहरू छिमेकीको भरमा रहेको स्थानीय कार्तिक दासले बताए । उनीहरूको घरमा सुत्नकालागि एउटा मात्र खाट रहेकोले रातीको समयमा बाहिरको बरण्डामा सुत्न बाध्य भएको उनले जानकारी दिए ।
दिपक राजबंशीले बुबाको मृत्यु भए छि घरको आर्थिकस्थिति कमजोर भएकोले आमालाई सहयोग गर्दै आएका थिए । कक्षा आठमा पढ्दै गरेका उनले गाउँ घरमै मजदुरी गरेर आमा र भाइहरूको पालन पोषणमा सहयोग गर्दै आएका थिए । तर अहिले सहारा भनेकी आमाको पनि मृत्यु भएपछि केही सोच्नै नसकेको उनले सुनाए ।
उनले आमाको उपचारकालागि स्थानीय गणेश प्रसाद राजवंशीसँग २० हजार रुपैयाँ ऋण लिएर उपचार गराएका थिए । उनले भने, ‘अब ऋण कसरी तिर्नु ? भाइ राजिवको पनि शरिरमा खटिरा आएको छ, उपचार गर्न लग्न सकेको छैन ।’
आमाको मृत्यु भएपछि ५ बर्षका रोशन र ७ बर्षका राजिव विद्यालय समेत जान छाडेका छन् । सन्तोषीको काजक्रिया गर्नका लागि चन्दा संकलन गरेर गाउँलेले रकम जुटाइ दिएका छन् ।
टुहुरालाई सहयोग
यसरी गाउँमा बालक टुहुरा भएको थाहा पाएको एक सहकारीले केही खाद्यान्न सहयोग गरेको छ । रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले टुहुरा रहेका बालकलाई २५ किलो चामल, ५ किलो भुजा, दुईवटा झुल, ब्ल्याङकेट दिएको हो । बालकहरू दुःखमा परेको थाहा पाएपछि संस्थाले सामान्य केही सहयोग गरेको अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।