काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहा गर्न आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले प्रकाण्ड लगायत नेकपाका कार्यकर्तालाई रिहा गर्न आदेश दिएको हो ।
पूर्व मन्त्रीसमेत रहेका नेकपा प्रवक्ता प्रकाण्डलाई गैरकानूनी रुपमा थुनेको भन्दै विरेन्द्र विकले दिएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको हो ।
काभ्रे सदरमुकामस्थित क्रसर उद्योगमा आगजनी गरेको भन्दै काभ्रे प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
यसअघि साउन २२ गते प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेका प्रकाण्डलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै भदौ १ गते (शुक्रवार) रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्च आदेशानुसार रिहा भएलगत्तै शुक्रवार नै प्रहरीले प्रकाण्डलाई पुनः पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विप्लव नेतृत्वको नेकपाकै अन्य २ जना कार्यकर्तालाई पनि रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कार्की र श्रेष्ठको इजलाशले नेकपा दोलखाका कार्यकर्ता लोकेन्द्र दर्नाल (प्रेमस) र राजनप्रसाद लम्साललाई रिहा गर्न आदेश दिएको हो ।