
काठमाडौं– कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका १ जनालाई काठमाडौं रेफर गरिएको छ ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका अर्जुन भण्डारीलाई उपचारका लागि काठमाडौं रेफर गरिएको हो । गोली लागेर ढलेका बिष्टलाई थप उपचारका लागि महाकाली अञ्चल अस्पतालले धनगढीस्थित सेती अञ्चल अस्प्तालमा रेफर गरेको थियो ।
सेती अञ्चल अस्पतालमा पनि उपचार संभव नभएपछि उनलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको जनाइएको छ ।
भण्डारीको दायाँ खुट्टामा गोली लागेको थियो । गोलीले उनको खुट्टाको नशा नै चुँडिएकाले धनगढीमा उपचार सम्भव नभएको सेती अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् ।