२१ जेठ २०८३, बिहीबार

‘ह्याप्पी फिर भाग जाएगी’ समीक्षा : रमाइलो टाइमपास फिल्म

‘ह्याप्पी फिर भाग जाएगी’ समीक्षा : रमाइलो टाइमपास फिल्म

काठमाडौं — ह्याप्पी भागेको कथाको पहिलो भाग सन् २०१६ मा हेरिएको थियो । त्यतिखेर फिल्म सफल भएको थियो र थप रोचक फिल्म बनाउने कुरा झिकिएको थियो । 

अघिल्लो फिल्म हेर्नुभएको छैन भने पनि यो फिल्मसँग कनेक्ट हुन सक्नुहुन्छ । अघिल्लोपटक ह्याप्पी पाकिस्तान भागेकी थिइन् तर यसपालि त दुईदुई ह्याप्पी छन् । उनीहरू चीनका फरक फरक भागमा छन् । अहिले उनीहरूलाई खोज्ने भन्दा पनि बचाउने प्रयास बढी छ । 

फिल्मका लेखक तथा निर्देशक मुदस्सर अजीजले पूरै फिल्ममा राम्रा संवादमार्फत भारत, चीन र पाकिस्तानबीचको द्वन्द्वमाथि व्यंग्य गरेका छन् । फिल्मका धेरै संवादले हँसाउँछन् पनि, सोच्न पनि बाध्य बनाउँछन् । 

चीनको शांघाई विमानस्थलमा अमृतसर घर भएका दिदीबहिनी एकैचोटि ओर्लिन्छन् । पहिली ह्याप्पी (डायना पेन्टी) आफ्ना पति गुड्डु (अली फजल) सँग मिलेर एउटा म्युजिक कन्सर्टमा भाग लिन आएकी छन् । कन्सर्टमा गुड्डुले
गाउने कार्यक्रम छ । अर्की ह्याप्पी (सोनाक्षी सिन्हा) शांघाईमा आफ्नो भागेको दुलाहा खोज्न आएकी छन् । 

विमानस्थलमा केही चिनियाँ अपहरणकारी पहिलो ह्याप्पीलाई लिन आउँछन् तर एउटै नाम भएकाले झुक्किएर दोस्रो ह्याप्पीलाई लग्छन् । अपहरणका क्रममा उनीहरूले दमन बग्गा (जिम्मी शेरगिल) र पाकिस्तानी प्रहरी उस्मान
अफरिदी (पीयूष मिश्रा) लाई पनि लग्छन् । पछि दोस्री ह्याप्पी खुशी (जस्सी गिल) सँग ठोक्किन पुग्छिन् । त्यसपछि कथाले अनेकौं रमाइलो मोड लिन्छ । 

फिल्म दोस्री ह्याप्पीवरिपरि घुमेको छ जसलाई सोनाक्षीले राम्ररी अभिनय गरेकी छन् । लगातार फ्लप फिल्म दिइरहेकी सोनाक्षीलाई यो फिल्मले राहत दिन्छ । हिन्दी र पञ्जाबीमा डायलग डेलिभरी गरेर सोनाक्षीले हरप्रीत कौरलाई पर्दामा जीवन्त बनाएकी छन् । 

जिम्मी र पीयूषबीचको झैझगडा र जिम्मीका छोटा संवादले रमाइलो अनुभव दिलाउँछन् । जस्सी पहिलोपटक बलिउड फिल्ममा देखिएका छन् र उनले आफ्नो भूमिकालाई न्याय गरेका छन् । 

अन्य कलाकारको अभिनय पनि राम्रो छ ।

मुदस्सर अजीज लेखनका लागि प्रसिद्ध छन् र उनको मेहनत फिल्मको संवादमा भरपूर देखिन्छ । फिल्मका सबै दृश्य र संवाद सिचुएसनको हिसाबमा फिट देखिन्छन् । अजीजको निर्देशनमा पनि प्रौढता आएको छ । 

फिल्मका कुनै पनि गीत अत्यधिक चर्चित भएनन् । तर संगीत कथाको प्रवाहअनुसार नै बगेको छ । 

राम्रा व्यंग्यात्मक संवाद, गजबको सिचुएसनल कमेडी, सोनाक्षीको फरक अभिनय अनि जिम्मी र पीयूषको अभिनयले फिल्मलाई रमाइलो बनाएको छ ।

नवभारत टाइम्समा प्रकाशित सञ्जय मिश्राको समीक्षा

फिल्म : ह्याप्पी फिर भाग जाएगी
कलाकार : सोनाक्षी सिन्हा, जिम्मी शेरगिल, पीयूष मिश्रा, डायना पेन्टी, जस्सी गिल, अपारशक्ति खुराना
निर्देशक : मुदस्सर अजीज
विधा : कमेडी
समय : दुई घन्टा १६ मिनेट

रेटिङ ३.५/५
 

salt training

कमेन्ट गर्नुहोस्