
काठमाडौं– सरकारले सैन्य तथा सुरक्षा मामिलासम्बन्धी अध्ययन र अनुसन्धानका लागि नेशनल डिफेन्स विश्वविद्यालय स्थापना गर्ने भएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेलले छिट्टै डिफेन्स विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइने बताएका छन् । रक्षामन्त्री पोखरेलले सरकारी लगानीमा नेशनल डिफेन्स कलेज पनि स्थापना हुने बताए ।
रक्षामन्त्री पोखरेलले सैनिक तथा सुरक्षा निकायमा भविष्य बनाउने सर्वसधारणले डिफेन्स विश्वविद्यालय र कलेजमा अध्ययन गर्न पाउँनेछन् । साथै विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रक्षा नीति, आन्तरिक सुरक्षा तथा अपराध नियन्त्रणका सम्बन्धमा अनुसन्धान गर्ने मन्त्री पोखरेलको भनाइ छ ।
विस्फोटक पदार्थमा आत्मनिर्भर बन्ने
रक्षा मन्त्रालयले अबको केही वर्षभित्र देशलाई बिस्फोटक पदार्थको उत्पादनमा आत्मनिर्भर बनाउने नीति समेत अवलम्बन गरेको छ । हाल बन्द अवस्थामा रहेका नेपाली सेनाका विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टहरुलाई पूर्ण सञ्चालनमा ल्याएर देशलाई विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर बनाइने रक्षामन्त्री पोखरेलले जानकारी दिए ।
‘सेनाको मातहतमा सञ्चालन हुने प्लान्टबाट सेनासहितका सुरक्षा निकाय र अन्य कामका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गरिने छ,’ मन्त्री पोखरेलले भने, ‘हाल बन्द अवस्थामा रहेका सेनाका विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याए विस्फोटक पदार्थमा आत्मनिर्भर बन्ने अवस्था छ ।’
हाल नेपाली सेनाले केही मात्रामा विस्फोटक पदार्थ उत्पादन गरिरहेपनि धेरैजसो बाहिरबाट आयात हुने गर्छ ।
रक्षा मन्त्रालयले सैनिक सामग्री उत्पादन गर्नमा समेत नेपाली सेनालाई आत्मनिर्भर बनाउने गरी काम अगाडि बढेको जनाएको छ । आगामी ३ वर्षभित्र सैनिक सामग्री उत्पादनमा सेनालाई आत्मनिर्भर बनाउने रणनीतिअनुसार उद्योग तथा प्लान्टको क्षमताअनुसार साना हतियार, ग्रिनेट, मोर्टार शेल, मिलिटरी तथा विस्फोटक पदार्थ उत्पादन बढाइने रक्षामन्त्री पोखरेलले बताए ।
रक्षा मन्त्रालयले नेपाली सेनाको सुरक्षामा रहेका ऐतिहासिक महत्वका गढी, किल्ला लगायत क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइ पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पर्ने गरी काम गर्ने योजना समेत अगाडि बढाएको छ ।
रक्षा मन्त्रालयले नेपाली सेनाको सकलदर्जाका परिवारको बासस्थानका लागि ‘परिवार आवास गृह’ निर्माणबारे ठोस योजना बनाउने जनाएको छ ।