
महेन्द्रनगर – कञ्चनपुरमा चर्किएको आन्दोलनका विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रहरी प्रशासनमाथि कडा सवाल गरिएको छ ।
शुक्रवार भएको आन्दोलनलाई नियन्त्रण र शान्त पार्ने अन्य उपाय हुँदाहुँदै प्रहरीले गोली चलाएकोप्रति बैठकका सहभागीले आक्रोश व्यक्त गरेका छन् । बैठकका सहभागी स्थानीयले प्रदर्शनकारीमाथि अनावश्यक गोली प्रहार गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
प्रहरीको गोली प्रहारबाट शुक्रवार भीमदत्त नगरपालिका–१८ का शनि खुनाको मृत्यु भएको थियो भने अन्य प्रदर्शनकारी घाइते भएका थिए । बैठकमा मृतक खुनालाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सिफारिश गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबारे अनुसन्धान गरेर क्षतिपूर्ति दिने सहमति भएको छ ।
बैठकमा प्रशासन र छानबिन समितिले विरोधका कार्यक्रम नगर्न र अनुसन्धान गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । छानबिन समिति र प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान गर्ने भएको छ । १ महिनासम्म घटनाको वास्तविक छानबिन हुन नसक्नु र ढिलाइ हुनुका पछाडिको कारण खोज्दै प्रहरी अधिकारीमाथि पनि कारवाही गर्ने विषयमा बैठकमा छलफल भएको छ ।

भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि कञ्चनपुरमा आन्दोलन भइरहेको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि आक्रोशित भएका स्थानीय वासिन्दाले आन्दोलन चर्काएका थिए ।
आन्दोलन उग्र बनेपछि प्रशासनले शुक्रवार साँझदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ । बैठकमा कर्फ्यू हटाउने विषयमा कुराकानी नभएकाले कर्फ्यूले निरन्तरता पाउने भएको छ ।