काठमाडौं, २९ मंसिर — काभ्रेको चौबास प्रहरी चौकीका असई प्रेम चौधरी अनुसन्धानमा तानिएका छन् ।
बाङथलि गाविसकी लक्ष्मी परियारलाई ‘बोक्सी’को आरोपमा कुटपिट गर्ने सूर्योदय माविका शिक्षक हीरा लामा र असई चौधरीको सम्बन्धका विषयमा विभिन्न प्रकारका समाचारहरू सार्वजनिक भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा तानेको हो ।

‘अहिले घटनाको बारेमा थप बुझ्नको लागि मात्रै उसलाई जिल्लामा तानिएको हो,’ काभ्रेका एसपी सहकुल थापाले भने, ‘चौबासमा अर्को असईलाई जिम्मेवारी दिँदैछौं ।’ उनले उक्त घटना र सिंगो चौबास प्रहरी चौकीमाथि जिल्ला प्रहरी कार्यालयले सूक्ष्म अनुसधान गरिरहेको बताए ।
‘पत्रपत्रिकामा विभिन्न समाचार आउन थालेदेखि नै उनीहरू हाम्रो निगरानीमा छन्,’ थापाले भने । थापाका अनुसार उक्त घटना तथा प्रहरीको कार्यको विषयमा थप अनुसन्धानका लागि डिएसपी नवीनराज राईको टोलीलाई चौबासमा खटाइएको छ । ‘अहिले डिएसपी सा’पको सम्बन्धित ठाउँमै थप अनुसन्धान हुँदैछ ।’
गत मंगलवार शिक्षक लामाले आफ्नै आमाको सहयोगमा परियारलाई कुटपिट गरेका थिए । आपसी झैझगडाले उग्र रूप लिएपछि उनले परियारलाई बोक्सी भन्दै पोलमै बाँधेर कुटपिट गरेको तथा मलमूत्र खुवाएको मानवअधिकारवादीको अनुगमनले पत्ता लगाएको थियो ।
घटनापछि बिहीवार चौबास प्रहरी चौकीका असई चौधरीले स्थानीयहरूको रोहवरमा मिलापत्र गराएका थिए । परियार र लामाका बीचमा मिलापत्र भएको २४ घण्टा नबित्दै परियारको निधन भएपछि सो विषय बाहिर आएको थियो ।
महिलामाथि निर्घात कुटपिट हुँदा समेत सो विषयलाई सामान्य झैझगडाको विषयका रूपमा प्रहरीले व्याख्या गरेर मिलापत्र गराएको भन्दै सो घटनाको चौतर्फी विरोध भएको छ । लामा र स्थानीय प्रहरीका बीचको सम्बन्धको कारणले परियारको ज्यान गएको आरोप लाग्न थालेपछि प्रहरीले आन्तरिक अनुसन्धान शुरू गरेको हो ।