
कञ्चनपुर- कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो ।
दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो ।
पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ । लगातारको कर्फ्यूका कारण बाहिर निस्कन नपाएकाहरु पनि अहिले किनमेलका लागि बजारमा आएका हुन् । आज जनैपूर्णिमा र रक्षाबन्धन पनि परेकाले सर्वसाधारण बजारमा किनमेलका लागि निस्किएका हन् ।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे घटनाकाे अनुसन्धान गर्न माग गर्दै शुरु भएकाे अान्दाेलन उग्र भएपछि स्थितीलार्इ नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।