२८ जेठ २०८३, बिहीबार

नेवार समुदाय 'गुँपुन्ही' पर्व मनाउँदै

नेवार समुदाय 'गुँपुन्ही' पर्व मनाउँदै
सन्दर्भ तस्वीर

भक्तपुर-श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । 

यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायले आजको दिनलाई क्वाँटी पुन्ही पनि भन्ने गरिन्छ । 

क्षेत्री बाहुनलगायतका समुदायले भने विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खाने गर्दछ । यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ । 

रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । 

“खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो,” उहाँले भन्नुभयो । 

नेवार समुदायले आज विभिन्न कुण्डहरुमा गई स्नान गर्ने र विशेषगरी महादेवको दर्शन गर्ने र हातमा रक्षाबन्धनको प्रतीक डोरो लगाउने गर्दछ । नेवार समुदायले पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्